कविताः तिमी नदी

485

सुशिला पौडेल,

-तिमी नदी बग्नु तिम्रो नियति
हिमालको शिरबाट खस्नु तिम्रो नियती
चट्टानहरुसङ्ग ठोकिएर
खोँचहरुमा बिलाउदै
निरन्तर निरन्तर बग्नु तिम्रो बाध्यता ।

मन लाग्दो हो तिमीलाई
हिमालको काख नछोडूँ
आफु हुर्किएको त्यो धरातल नछोडूँ
स्थिर हुन नपाउनु र बग्नु
तिम्रो विवशता ।

कहिले खुम्च्याउँछ समयले
कहिले मैल्याउँछ झोरहरुले
सम्हान नसक्ने आकार कहिले
आफ्नै शरीर लाचार कहिले
भो भन्न नमिल्नु ,सम्हालिन नपाउनु
तिम्रो कहालीलाग्दो विडम्बना ।

फोहरका रासहरु छिचोल्दै
नचाहिँदा वस्तुहरु बटुल्दै
किनाराको अट्टहाँस झेल्दै
उचालिदै, पछारिदै थिलथिलो हुँदै
अविछिन्न घचेडिनु पर्ने तिम्रो निरिहता।

जन्मेको काख छोडेर
आफ्नो भूभाग छोडेर
पराइको शरण पर्दै
उसकै जयकार गर्दै
सदैव सदैव अरुकै हुनुपर्ने
कहिले फर्किन नस्क्नु तिम्रो उत्सर्ग
बस कहिले कतै गणना नहुने
तिम्रो उत्सर्ग ।
                                  हाल कपन काठमाडौं बस्नुहुने पौडेल एक दशकदेखि नेपाली साहित्यमा सक्रिय हुनुहुन्छ ।