जिशिअको कुर्सीमा आगजनी गर्ने दुई विद्यार्थी पक्राउ

105

बैशाख ११,
कञ्चनपुर । नेकपा–माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी कञ्चनपुरमा आवद्ध दुई जना विद्यार्थीलाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको छ। क्रान्तिकारीका विद्यार्थीहरुले जिल्ला शिक्षा अधिकारीकोे कुर्सिमा तस्बिर राखी आगजनी गरेपछि दुई जनालाई नियन्त्रणमा लिएको हो। आगजनी गर्ने क्रममा प्रहरीले क्रान्तिकारीका पूर्व केन्द्रीय सदस्य भीम भट्ट र वर्तमान केन्द्रीय सदस्य चन्द्रकान्त भट्टलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरिक्षक उमाकान्त जोशीले बताए। क्रान्तिकारीका कञ्चनपुर अध्यक्ष विरेन्द्रराज बिष्टले प्रहरीले पक्राउ गरेका केन्द्रिय सदस्य द्वयलाई निःशर्त छाड्नु पर्ने बताए । प्रहरीले नछाडे पूर्व घोषित कार्यक्रमसँगै प्रहरी प्रशासन विरुद्ध कडा आन्दोलन गर्ने उनले बताए। चरणवद्ध आन्दोलन अन्र्तगत सोमबार दिउँसै क्रान्तिकारीका नेताहरुले जिल्ला शिक्षा कार्यालय पुगेर जिल्ला शिक्षा अधिकारी अमर प्रशाद भट्टलाई दिउँसै टर्च बालेर खोजेका थिए। वैशाख १२ गते विद्यालयबाटै कापी कलम बेच्ने निजी विद्यालयमा तालाबन्दी गर्ने, १३ गते शैक्षिक आम हड्ताल गर्ने, १४ गते जिल्ला शिक्षा र प्रशासनमा कालोभण्डा सहित प्रर्दशन गर्ने र १५ गतेदेखि स्थानीय सरकार घेराउ गर्ने क्रान्तिकारीले कार्यक्रम घोषणा गरेको छ। पहिलो चरणका आन्दोलनका कार्यक्रमसम्म माग पुरा नगरेर पुनः दोस्रो चरणमा शसक्त आन्दोलन थाल्ने क्रान्तिकारी नेताहरुको भनाई रहेको छ । शिक्षा कार्यालय लगायत सरोकारवाला निकायले अवैधानिक निजी विद्यालय बन्द गर्न आलटाल गरेपछी विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन्।