कर्मचारीले आवास नछोडेपछि मन्त्रीको निवास होटलमै

196

नागरिक दैनिक- बैशाख ९,
सुर्खेत । कर्णाली प्रदेशमा मन्त्रिपरिषद् गठन भएको दुई महिना भन्दा धेरै भयो। सात सदस्यीय मन्त्रिमण्डलमा मुख्यमन्त्रीसहित छ जना मन्त्रीहरु सरकारी निवासमै बस्छन्। प्रदेश सरकारका एक जना मन्त्री भने अहिले पनि होटलमा बस्दै आएका छन्। ‘सुविधायुक्त’ सरकारी निवास नपाएपछि भौतिक पूर्वाधार विकासमन्त्री खड्क खत्री अहिले पनि वीरेन्द्रनगरको राप्ती होटल एण्ड लजमा बस्ने गरेका छन्। खत्री प्रदेश सांसदमा निर्वाचित भएदेखि नै राप्ती होटलमा दुई वटा कोठा भाडामा लिएर बस्दै आएका थिए। मन्त्री भएपछि पनि उनले त्यसैलाई निरन्तरता दिइरहेका छन्। राप्ती होटलको १०९ र ११० कोठामा उनी बस्दै आएका छन्। होटलमा मन्त्री खत्रीसहित पिएसओ, पिएलगायत बस्छन्। उनलाई भेट्न आउने र नजिकका मानिसहरु पनि होटलमा आउने गरेका छन्। ‘अहिले चार–पाँच जना हुन्छन्, कहिले १५–२० जना पनि हुन्छन्’ होटल सञ्चालक देवी बुढाले भनिन्, ‘हामीले बसेको दिनको मात्रै भाडा लिन्छौं, अरु बेलाको लिने गरेका छैनौं।’ अट्याच, बाथरुमसहितका दुई वटा कोठा मन्त्रीले भाडामा लिएको उनले बताइन्।

भौतिक पूर्वाधारमन्त्री खत्री तत्कालिन क्षेत्रीय सडक डिभिजन कार्यालयको आवासमा बस्न चाहेका छन्। कर्मचारीले आवास नछोडेकाले आफू होटलमा बस्नु परेको उनी बताउँछन्। भेरीगंगा नगरपालिकाको रामघाट स्थायी घर भएका खत्री यसअघि पनि वीरेन्द्रनगर आउँदा राप्ती होटलमै बस्ने गरेको उनी निटक बताउँछन्।