Thursday, October 1, 2026
Home समाचार आज अक्षय तृतीया, शुभकर्मका लागि हेरिरहनुपर्दैन साइत

आज अक्षय तृतीया, शुभकर्मका लागि हेरिरहनुपर्दैन साइत

138

बैशाख ५,
काठमाडौं । वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया। जौको सातु र सर्वत दान गरेर र खाएर मनाइँदैछ। पौराणिक ग्रन्थहरूमा त्रेतायुगको आरम्भ यसै दिनबाट भएको भनिएको छ। अक्षय तृतीयालाई सत्ययुगादि तिथि पनि भनिएको छ। यो दिन भगवान् विष्णुका छैटौं अवतार परशुराम जयन्ती मनाइन्छ। यो दिन विशेषगरी पवित्र तलाउ र नदीमा स्नान गरी भगवान् विष्णुको पूजा आराधना गर्ने विधान छ। ब्रह्मा, विष्णु र महेश्वरको आवाहन गरी घडा र जौको सातुलगायत शीतलता प्रदान गर्ने वस्तु दान गर्नाले अक्षय फल प्राप्त हुने पुराणहरूमा उल्लेख छ। उष्ण समय भएकाले जौको सातु र सर्वत खाँदा शरीरलाई फाइदा गर्ने आयुर्वेदमा उल्लेख छ। यस्ता पदार्थ दान गर्दा अक्षय फल पाइने शास्त्रमा बताइएको छ। धर्म हुने विश्वासमा बाटोमा सर्वत राखेर बटुवालाई खुवावउने चलन पनि छ। पं बालमुकुन्द देवकोटाका अनुसार पुराणमा अक्षय तृतीयाकै दिन भगवान् शिव पार्वतीको विवाह भएको बताइएको छ। ‘त्यसैले यो दिन विवाह गर्न मुहूत्र्त हेरिरहनुपर्दैन भन्ने मान्यता छ’, देवकोटा भन्छन्। यो दिन अन्य शुभकर्म गर्न पनि साइत हेराइरहनुपर्दैन भन्ने मान्यता छ।