दोहोरिँदै आउँछन् घरेलु हिंसाका घटना

233

चैत २६,
ललितपुर । घरेलु हिंसासम्बन्धी एउटै घटना दोहोरिएर आउने गरेको छ । श्रीमान्सँगको विभिन्न किसिमका झगडालाई लिएर महिला बारम्बार प्रहरीसम्म आइपुग्ने गरेको महानगरीय प्रहरी परिसर ललितपुरअन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्रकी प्रमुख चञ्चला श्रेष्ठले बताउनुभयो । प्रहरीले घटना हेरेर सामान्य झगडामा मेलमिलाप गराउने गरेको छ । प्रहरीसम्म आएर गएको एक साता नबित्दै त्यही विषयमा महिला आइपुग्ने गर्छन् । उहाँ भन्नुहुन्छ, “कति त नियमित जस्तै वर्षांैदेखि यहाँ आइरहेका घटना पनि छन् ।” महिला हिंसाका घटनामा सबैभन्दा बढी घरेलु हिंसाका घटना प्रहरीसम्म आइपुग्छ । श्रीमान्ले कुटेको, खान नदिएको, बाहिर अर्की श्रीमती राखेको, सन्तानलाई बेवास्ता, विवाह र जन्मदर्ता नगराएकोेलगायतका समस्या लिएर महिला आउने गरेका हुन् । पहिले श्रीमान्लाई कारवाही माग गर्ने महिलापछि भने आफैँ छुटाउन लाग्छन् । उहाँ भन्नुहुन्छ, “श्रीमान् दोषी देखिएमा प्रहरीले अनुसन्धानका लागि हिरासतमा राख्छ तर छुटाउन श्रीमती नै आइपुग्छन् ।” प्रहरीसम्म आएका घटनामा श्रीमान्–श्रीमतिको अलग्गिन चाहेको र मिल्न सक्ने अवस्था नहुँदामात्रै सम्बन्धविच्छेदका लागि अदालत पठाउँछ । अधिकांश घटनामा भने एकपटक प्रहरीसम्म आएका मुद्दा नै बारम्बार दोहोरिन्छन् । शिक्षित वर्ग र शहरी क्षेत्रका उच्च वर्गका मानिसको कममात्रै मुद्दा आउँछ । केन्द्रमा सबैभन्दा बढी न्यून र मध्यम वर्गीय परिवारका घरायसी समस्या आउने गरेका छन् । रासस