प्रधानमन्त्रीको भ्रमणमा जम्बो टोली

166

चैत १७,
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले २३ देखि २५ चैतसम्म भारतको राजकीय भ्रमण गर्ने औपचारिक टुंगो लागेको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार भ्रमणको मिति सार्वजनिक गरेको हो । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा ओली तीनदिने भ्रमणमा जान लागेका हुन् । भ्रमणका क्रममा भारतीय राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति भेनकाई नायडु र प्रधानमन्त्री नरेन्द्र मोदीलगायतसँग भेटवार्ता गर्नेछन् । परराष्ट्र मन्त्रालयका अनुसार उत्तराखण्डको पन्तनगरस्थित गोविन्दवल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयको आयोजनामा हुने कार्यक्रममा पनि भाग लिनेछन् । नेपाल एयरलाइन्सका ५५ सिट बुक प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणमा जम्बो टोली रहने भएको छ । परराष्ट्र मन्त्रालयले नेपाल एयरलाइन्समा बिजनेस क्लासका सबैसहित जम्मा ५५ सिट बुकिङ गरेको छ । २३ चैतमा काठमाडौंबाट दिल्ली र २५ चैतमा दिल्लीबाट काठमाडौंका लागि सिट बुक गरेको हो । ‘सम्माननीय प्रधानमन्त्रीको भ्रमणका लागि भिभिआइपी उडान गर्नुपर्ने भनेर ५५ सिट रोकिएको छ,’ एयरलाइन्सका एक उच्च अधिकारीले बताए । जम्बो प्रतिनिधिमण्डल आउने भए पनि प्रधानमन्त्रीले सपिङ लिस्ट ल्याउने छैनन् । भारतका तर्फबाट नेपाललाई सहयोग घोषणा हुन सक्ने, तर त्यसमा नेपालले सपिङ लिस्ट नबुझाउने नेपाली पक्षको तयारी छ ।पहिलो कार्यकालमा ७ फागुन ०७२ मा ओलीले भारतको राजकीय भ्रमण गर्दा पनि ओलीले कुनै तयारी विषयसूची लगेका थिएनन् । त्यतिखेर उद्योगी–व्यवसायीबाहेक ४५ जनाको टोली भ्रमणमा थियो । टोलीमा प्रधानमन्त्रीपत्नीसहित सबैमन्त्री, मन्त्रालयका सचिवहरू, सुरक्षाकर्मी र सरकारी सञ्चारकर्मीसमेत थिए । उद्योगी–व्यवसायी निजी खर्चमा गएका थिए, दिल्लीमा उनीहरूको बसोवासको प्रबन्ध भने सरकारले नै गरेको थियो । यसअघिका सबैजसो प्रधानमन्त्रीको भारत भ्रमणमा उद्योगी–व्यवसायी निजी खर्चमै जाने गरेका थिए ।प्रधानमन्त्रीको भ्रमण दल भने अझै तय भइसकेको छैन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीनिकट भाजपाका नेता तरुण विजयले ओलीलाई स्वागत गर्न भारतको संस्थापन पक्ष व्यग्रतासाथ प्रतीक्षा गरिरहेको बताए । ‘प्रधानमन्त्री ओलीजीलाई स्वागत गर्न भारतको संस्थापन पक्षले सम्पूर्ण तयारी गरिरहेको छ, उहाँको सम्मानमा कुनै बाँकी रहनेछैन र उहाँको भ्रमणपछि नेपाल र भारतबीच बुझाइमा कुनै पनि दूरी बाँकी हुनेछैन,’ नेता विजयले बताए । नेपालसँगको सम्बन्ध भारतका लागि महत्वपूर्ण भएको बताए । उनले भने, ‘हामी नेपाल र भारतलाई एउटा परिवारका दुई सदस्य मान्दछौँ, यस हिसाबले ओलीजीको भ्रमण कूटनीतिक सीमामा कैद हुँदैन, पारिवारिक मित्रलाई स्वागत गर्न हामी प्रतीक्षारत छौँ ।’