युरोपियन युनियन प्रतिवेदनप्रति कांग्रेसको आपत्ति

148

चैत १२,
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले युरोपियन युनियन (इयु)को निर्वाचनसम्बन्धि प्रतिवेदनप्रति आपत्ति जनाएको छ। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले युरोपियन युनियनको निर्वाचनसम्बन्धी प्रतिवेदन आपत्तिजनक रहेको प्रतिक्रिया दिएका छन्। उनले पार्टी केन्द्रीय कार्यसमितिको सोमबारको बैठकपछि सञ्चारकर्मीमाझ निर्वाचनको पर्यवेक्षण गर्ने जिम्मेवारी पाएको युरोपियन युनियनले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर नेपालको संविधानमाथि नकारात्मक टिप्पणी गरेकोमा पार्टीको गम्भीर असहमति रहेको स्पष्ट पारे। कांग्रेसले युरोपियन युनियनलाई आफ्नो मर्यादाभित्रै रहेर गतिविधि संचालन गर्न पनि सचेत गराएको छ। सोमबारको बैठकमा कांग्रेस केन्द्रीय सदस्यहरूले पनि युरोपियन युनियनको निर्वाचनसम्बन्धि प्रतिवेदन आपत्तिजनक रहेको धारणा राखेका थिए। कांग्रेसले यस सम्बन्धमा पार्टी केन्दीय कार्य समितिको बैठक सम्पन्न भएलगत्तै पत्रकार सम्मेलन गरेर औपचारिक धारणा सार्वजनिक गर्ने तयारी गरेको छ। युरोपियन युनियनको निर्वाचनसम्बन्धि प्रतिवेदनमा नेपालको संविधानकै अवमूल्यन गर्न खोजिएको कांग्रेसको आरोप छ। प्रवक्ता विश्वप्रकाश शर्माले नेपालको संविधान सिंगै युरोपको संविधान भन्दा पनि उत्कृष्ट रहेको बताएका छन्। केन्द्रीय कार्यसमितिको सोमबारको बैठक पनि निर्वाचनको समिक्षामै केन्द्रित रहेको छ। बैठकको सुरुमा बोल्दै केन्द्रिय सदस्यहरू रमेश लेखक, गोविन्द भट्टराई, डा। डिला संग्रौला, लक्ष्मी परियारले वाम गठबन्धनलाई प्रतिवाद गरेर जान नसक्दा पार्टीले निर्वाचनमा अनपेक्षित हार व्यहोर्नु परेको धारणा राखेका थिए। वाम गठबन्धनलाई प्रतिवाद गरेर जान नसक्दा पनि निर्वाचनमा अनपेक्षित हार व्यहोर्नु परेको नेताहरूको भनाइ रहेको पनि प्रवक्ता शर्माले बताए। नेपाली कांग्रेसले निर्वाचनको गम्भिर समिक्षा गरी पार्टीको भावी रणनीति तय गर्न केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो। शुक्रबार सुरु भएको बैठकमा पार्टीका संस्थापन पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच आरोप, प्रत्यारोप चलेको छ।