टेकराज थामी/नयाँ पत्रिका
चैत १०,
काठमाडौं । नेपाल प्रहरीमा ७२ हजार ७ सय ३३ प्रहरी कर्मचारीको दरबन्दी स्वीकृत छ । तर, प्रहरीले गृह मन्त्रालयलाई ६७ हजार कर्मचारीको मात्रै रेकर्ड बुझाएको छ । सरकारी तलब खाने बाँकी ५ हजार ७ सय ३३ प्रहरी कहाँ कार्यरत छन् गृहलाई पनि थाहा छैन । स्वीकृत दरबन्दी र नेपाल प्रहरीले बुझाएको रेकर्डमा ठूलो अन्तर परेपछि गृहले ती प्रहरी कर्मचारीको खोजी प्रक्रिया सुरु गरेको छ । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले नेपाल प्रहरीमा पाँच हजारभन्दा धेरै प्रहरी कर्मचारीको भौतिक रेकर्ड नदेखिएको बताए । ‘नेपाल प्रहरीमा करिब ७२ हजार प्रहरी कर्मचारीको दरबन्दी स्वीकृत छ । तलब सुविधा पनि सोहीअनुसार जान्छ । तर, निर्वाचनका वेला प्रहरीले आफूसँग ६७ हजार प्रहरी मात्रै रहेको रेकर्ड बुझायो । रेकर्ड र दरबन्दी विश्लेषण गर्दा पाँच हजारभन्दा धेरैको फरक देखिन्छ । तलब सुविधा खाने, तर भौतिक रेकर्ड नदेखिने ती प्रहरी कर्मचारी कहाँ छन्, हामीले खोजिरहेका छौँ,’ उनले भने ।
गृहले भौतिक रेकर्डमा नदेखिने तर सेवा–सुविधा लिने प्रहरी कर्मचारीको सम्पूर्ण विवरण सात दिनभित्र पेस गर्न भन्दै मंगलबार नै नेपाल प्रहरीलाई पत्र काटेको छ । गृहप्रवक्ता सुवेदीले भने, ‘भौतिक रेकर्ड नभएका प्रहरी कर्मचारीको सम्पूर्ण तथ्यांक सात दिनभित्र पेस गर्न हामीले नेपाल प्रहरीलाई भनेका छौँ । पत्र मंगलबार नैै काटिएको छ । सात दिनभित्र सम्पूर्ण विवरण पेस गर्न भनेका छौँ ।’ गृहका अनुसार तलब सुविधा बुझ्ने तर भौतिक उपस्थित नदेखिने प्रहरी कर्मचारीमध्ये अधिकांश सिपाही र हवल्दार दर्जाका छन् । तर, प्रहरी सहायक निरीक्षक, प्रहरी नायब निरीक्षक र प्रहरी निरीक्षक पनि यो सूचीमा छन् । गृहप्रवक्ता सुवेदी भन्छन्, ‘भौतिक उपस्थिति नदेखिने अधिकांश प्रहरी कर्मचारी तल्लो तहका छन् । उनीहरू कहाँ खटिएका छन् रु हामीले प्रहरीसँग त्यसैको रेकर्ड मागेका हौँ ।’ गृहलाई भौतिक रेकर्ड नबुझाइएकाहरू प्रहरीकै माथिल्लो तहका अधिकृतका घरमा कामदारका रूपमा कार्यरत रहेको गृहको आशंका छ । गृहले उनीहरूको पहिचान गरी प्रदेश सुरक्षामा खटाउने बताएको छ । प्रवक्ता सुवेदीले भने, ‘अहिले भौतिक रूपमा गायब देखिएका प्रहरी कर्मचारीको पहिचान गरिनेछ । हाकिमका घरमा छन् भने त्यहाँबाट तानेर प्रदेश सुरक्षामा खटाइनेछ ।’ रामकृष्ण सुवेदी,प्रवक्ता, गृह मन्त्रालय, भौतिक रेकर्ड नभएका प्रहरी कर्मचारीको सम्पूर्ण तथ्यांक सात दिनभित्र पेस गर्न हामीले नेपाल प्रहरीलाई भनेका छौँ । पत्र मंगलबार नैै काटिएको छ । सात दिनभित्र सम्पूर्ण विवरण आउला ।
६ हजार प्रहरीको रेर्कड हेडक्वार्टरले लुकायो,
घरेलु काममा खटाइएको गृहको आशंका