भक्तपुरमा भूकम्पपीडितलाई दोस्रो किस्ता लिन सास्ती

179

चैत ३,
भक्तपुर । घर निर्माणका लागि अनुदानको पहिलो किस्ता लिएका भूकम्पपीडितले दोस्रो किस्ता लिन निकै सास्ती भोग्नुपरेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानवाधिकार सञ्जाल भक्तपुरले सूर्यविनायक नगरपालिका वडा नं ९ नंखेलमा चैत १ गत ‘भूकम्पपीडितको राहत तथा पुनःनिर्माणको सवाल’ विषयमा आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा पीडितले दोस्रो किस्ता लिनै नसक्ने अवस्था आएको गुनासो गरे । कार्यक्रममा सहभागी अधिकांश पीडितले दोस्रो र तेस्रो किस्ताको अनुदान रकम लिनै नसक्ने अवस्था आएको र कतिपयले पहिलो किस्तासमेत नपाएको बताए । सूर्यविनायक नपा– ९ नंखेलका सत्यनारायण ब्याञ्जु र सीता मिजारले गत भदौमा घरको सर्वेक्षण भइसकेको फाइल जिल्लाबाटै हरायो भनेर खबर आएको बताउँदै घर बनाउन अनुदानको पहिलो किस्तासमेत नपाएको दुखेसो गरिन् । भूकम्पले घर भत्किएर धराप बन्यो, तीन पटक सर्वेक्षण पनि भयो तर लाभग्राहीमा नाम आएन, तीन वटा घर भएकाको नाम आयो, पैसा लगे, हामी धरापमा बस्नेको नामै आएन, यो कस्तो अन्याय हो, उनको भनाई छ । स्थानीयवासी राजकुमार ब्याञ्जु, सुमित्रा खत्री, पुष्कर कार्की, नवराज खड्का, साजन ब्याञ्जु, मधु खत्रीलगायतले भूकम्पले घर भत्किएपछि अहिलेसम्म तीन पटकसम्म सर्भे गरेर पनि लाभग्राहीको सूचीमा नाम नआएको भन्दै वास्तविक भूकम्पपीडितमाथि अन्याय भएको गुनासो गरेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समिति सचिवालय कार्यालयका प्रमुख शिवराम गेलालले भदौमा भरिएका गुनासो फारामको सर्भेको प्रक्रिया अगाडि बढेको बताउँदै नाम र निस्सा फरक भएकाको हकमा गुनासो फारामका आधारमा पुनःसर्भे भएपछि सम्बोधन हुने जानकारी दिए ।