छोराको पर्खाइमा १४ सन्तान

273
Pencil Sketch Of Mother And Baby Pencil Sketch Of Mother And Child Mother And Baby Drawing - Drawing Of Pencil

फागुन ३०,
रोल्पा । नगरपालिकाकी ६० वर्षीया सुन्तली सुनार १२ सन्तानकी आमा हुन्। १७ वर्षको उमेरमा पहिलो सन्तानकी आमा बनेकी सुनारले करिव दुई–तीन वर्ष प्रेम चलेपछि २१ वर्षीय युवासँग ४६ वर्षअघि प्रेम विवाह गरेकी थिइन्। सुनारका अनुसार विवाह भएको एक वर्ष नपुग्दै पहिलो सन्तानको जन्म भएको हो। सुन्तलीको कोखबाट २र३ वर्षको अन्तरमा नौ छोरी र तीन छोरा जन्मिए पनि उनको काखमा आठ छोरी मात्र जीवित छन्। एक छोरी र तीन छोरा भने जीवित रहेनन्। जसका कारण सुन्तलीले रातदिन यातना सहनुपर्‍यो । छोरा नपाएको र पाएका छोरा मारेको भन्दै उनका श्रीमानले मदिरा सेवन गरी रातदिन कुटपिट गर्ने, पेटभरि खान नदिने तथा घर निकाला गर्ने जस्ता सजाय दिइरहे। तर पनि सुन्तली जसोतसो जीवित छोरीको मुख हेरेर दिन गुजार्न बाध्य हुनु परेको थियो। उनका अनुसार छोराहरु जीवित नरहेपछि छोराको बाबु बन्ने सपना पूरा गर्न सुन्तलीका श्रीमानले सौता हाले। दुर्भाग्य नै भन्नुपर्छ सुन्तलीका श्रीमानले दोस्रो विवाह गरेपनि श्रीमानको सपना पूरा हुन सकेन। दोस्रो श्रीमतीबाट पनि दुई छोरीको मात्र जन्म भयो। कान्छीबाट पनि छोरा नजन्मिएपछि सुन्तलीका श्रीमानको छोरा जन्माउने सपना सपनामै सीमित रह्यो। कान्छी श्रीमतीले छोरा नपाएपछि सुनारले कान्छी श्रीमतीलाई छुट्टै राखेर पुनः छोरा पाएकी जेठी श्रीमतीसँग बस्दै आएका छन्। जेठीबाट आठ र कान्छीबाट दुई गरी सुनारका १० छोरी जीवितै छन्। सुनारकी छोरीका अनुसार पितृसत्तात्मक सोच र चिन्तनका कारण श्रीमानले जे गरे पनि हुने मान्यता कायमै रहेकाले सुनारले दोस्रो बिहे गरेको र आफूखुशी कान्छी श्रीमतीलाई पन्छाएर जेठी श्रीमतीसँग बस्दै र्आएका छन्। ‘मनपर्दा बिहे गर्ने मन नपर्दा छोड्न पाइने कस्तो गजबको हाम्रो परम्परा,’ उनले भनिन्। हिजोआज सुनार दम्पत्ति निकै चिन्तित छ। बाचुञ्जेल पाल्ने र मर्ने बेलामा चितासम्म पुर्‍याउन पनि छोरा नै चाहिने मान्यता बोकेको सुनार दम्पत्तिलाई जीवित छोरीभन्दा मरेका छोराको यादले पिरोल्ने गर्छ। सबै छोरी विवाह गरेर घरघर गइसकेका छन्। उमेरमा सधैँ कुटपिट गरेर यातना दिएकी श्रीमती नै आज सुनारको सहयात्री बनिरहेकी छन्। सुन्तलीका अनुसार छोरा नभएको भन्दै गाउँलेले हेलाको भावले हेर्न थालेपछि उनमा झन् निराशा थपिने गर्छ। बेलाबेला गाउँलेले सुनारको सम्पत्तिमा ‘अपुताली पर्नेभो’ भनेको सुन्दा सुनार दम्पत्तिलाई असह्य पीडा हुने गर्छ। उनले गुनासो गरिन्, ‘यौटै छोरा बाँचेको भए सौता पनि आउने थिइन र मैले श्रीमानबाट पनि छोरी पाएका कारण उमेरभर पीडा भोग्नु पर्ने थिएन कि।’ धेरैजसो अभिभावकमा आज पनि छोरा पाउने लालसा घटेको छैन। जिल्ला स्वास्थ्य कार्यालय, रोल्पामा सुत्केरी हुन आएका करिव ७५ प्रतिशत गर्भवती महिलाले छोरा नै जन्माउन चाहेको बताए। थबाङ गाउँपलिकाकी २४ वर्षीया रामकुमारी बाँठाका तीन बहिनी छोरी छन्। उनी पुनः गर्भवती भएकी छिन्। जिल्ला स्वास्थ्य कार्यालय, रोल्पामा आफ्नो स्वास्थ्य परीक्षण गराउन आएकी बाँठालाई छोरा नै चाहिएको बताइन्। यस्तै, चिकित्सकले यही फागुन १९ मा सुत्केरी हुने मिति दिएपनि सुत्केरी व्यथा नलागेपछि जिल्लाबाहिरको अस्पतालमा सुत्केरी हुन हिँडेकी एक ४२ वर्षीया महिलाले पनि आफ्नो नाम उल्लेख नगर्ने सर्तमा छोरा नै चाहिएको बताइन्। उनका पनि घरमा २१ वर्ष, १५ वर्ष, ८ वर्ष र ४ वर्षका गरी चार छोरी छन्। तर पनि उनी आफ्नो तथा समाजका लागि भन्दै छोरा जन्माउन चान्छिन्।