श्रीराम सुगर मिल्स सधैँको लागि बन्द

310

साउन १२,
रौतहत । श्रीराम सुगर मिल्स सधैँका लागि बन्द भएको छ । मिलले औपचारिक रुपमै सधैँको लागि बन्द भएको घोषणा गरेको हो । मिलको सञ्चालक समितिले २ अर्ब १७ करोड रुपैयाँ घाटा देखाएर बन्द गरेको छ । कम्पनीको जर्जर आर्थिक अवस्था र पुँजीको अभावको कारण कम्पनी व्यवस्थापन पक्षले विगत चार महिनादेखि उद्योगमा कार्यरत श्रमिकहरुको कर्मचारी संञ्चयकोष बापतको रकम र पारिश्रमिकसमेत भुक्तानी गर्न सकेको छैन । गत आर्थिक वर्षमा पनि कम्पनीले जम्मा १३ दिनमात्र क्रसिङको लागि खुलेको जनाएको छ । गत फागुन १३ गतेदेखि मिल्स पूर्ण रुपमा बन्द रहेको कम्पनीले जनाएको छ ।

सञ्चालकहरु करौडौँ खर्च गरेर मिललाई बचाउन खोजेपनि नसकेपछि अन्नतः बन्दको घोषणा गर्नु परेका जनाएको छ । हरेक वर्ष कम्पनी करोडौं रुपैयाँको घाटामा जान थालेपछि बाध्य भएर बन्द गर्नु परेको उसले एक सूचनामार्फत भनेको छ । कम्पनीले उखु किसानलाई करोडौं रुपैयाँ भुक्तानी गर्न सकेको छैन। किसानको बक्यौता भुक्तानी नगरी बन्द गर्ने निर्णय गरेको छ । कम्पनीको चुक्ता पुँजी ३० करोड ४६ लाख रुपैयाँ रहेको छ । विगत दुई दशक देखि सञ्चालनमा आएको यो मिल्स पछिल्लो समय लगातार घाटाम रहेको थियो ।