बाख्रा पालेर लाखौ कमाइ

350

फागुन २८,
म्याग्दी । अन्नपूर्ण गाउँपालिका–६ कुटमुनीकी विष्णु खड्कालाई दशक अघिसम्म दुई÷चार हजार रुपैयाँ आवश्यक पर्दा साहु कहाँ ऋण माग्न जानुपर्ने समस्या थियो ।
माइतीबाट दुईवटा पाठापाठी ल्याएर शुरु गरेको बाख्रापालन व्यवसायबाट खड्काको जीवनमा अहिले परिवर्तन आएको छ । उहाँले अहिले बाख्रा बेचेरै वार्षिक रु दुईदेखि तीन लाखसम्म आम्दानी गर्नुहुन्छ ।
“साहुले ऋण नपत्याएर माइतीबाट पाठापाठी ल्याएर बाख्रा पाल्न थालेकी थिए” खड्काले भन्नुभयो “एक वर्षयता २३ वटा बाख्रा र १५ वटा खसीबोका बेचे । घर व्यवहार र छोराछोरीको पढाई खर्च धानिएको छ ।”
राम्रो आम्दानी हुन थालेपछि रोजगारीका लागि आठ वर्षसम्म इराक, साउदी, मलेसियामा भौतारिएका खड्काका श्रीमान् गणेश पनि घर फर्किएर बाख्रापालनमै लागेका छन् । बाख्रापालनबाट स्वरोजगार बनेका खड्का दम्पतीले तीन वर्षअघि दर्ता गरेको ‘खड्का बाख्रा’ फार्ममा हाल खरी र जमुनापारी जातका ६० वटा बाख्रा छन् ।
घार, पोखरेबगर, भुरुङ तातोपानीमा खसीबोका तथा गाउँमै बाख्रापालन गर्नेले पाठापाठी खरिद गरेर लैजाने गरेका छन् । “खसीबोका र बाख्रा बिक्रीका लागि बजारको समस्या छैन, ग्राहक घरमै आउँछन्” गणेशले भन्नुभयो “सुख र आम्दानी दुवै हिसाबले बाख्रापालनबाट विदेशमा भन्दा राम्रो भएको छ ।”