पशुपतीनाथको जग्गामा वडा अध्यक्षको मनोमानी

199

फागुन ३,
काठमाडौं । राजनीतिक पहुँचका आधारमा काठमाडौं महानगरपालिका वडा नं. ८ का वडा अध्यक्षले आफ्ना नातेदारलाई पशुपती क्षेत्र विकास कोषको नियम विपरित मेला, महोत्सव सञ्चालनको स्विकृति दिएको खुलेको छ । विगत बर्षमा पनि पशुपतिनाथ मन्दिर परिसरमा चाडपर्बको समयमा हुने मेला महोत्सव गर्नका लागि पशुपति क्षेत्र बिकास कोषले टेण्डर आव्हान गर्ने गरेकोमा कोषसँग समन्वय नै नगरी बोलपत्र विना नै वडा अध्यक्षले महोत्सव सञ्चालन गर्न स्विकृति दिएको स्थानीयको गुनासो छ । पशुपति क्षेत्रमा फागुन ३ देखी कोषको स्विकृति विनै महोत्सव सञ्चालन गर्ने तयारी आयोजकले गरेपछि स्थानीय व्यापारी आक्रोशित बनेका छन् ।
बिगत पाँच बर्षदेखि ठेक्का आव्हान गरेर मेला आयोजना गरि पशुपति बिकास कोषले १० दिनको कर सहित २० लाख एउटा कार्यक्रम वापत राजस्व संकलन गर्दै आएकोमा वडा नं. ८ का अध्यक्ष दिनेश कुमार ढंगोलले राजनीतिक शक्तिको आडमा कोषसँग कुनै समन्वय नगरी एकलौटी रुपमा मेला आयोजक संस्थाका संयोजक श्रवणराज धमलाको नाममा महोत्सव सञ्चालनको स्विकृति दिएको स्थानीय सुमन गुरुङ्गले जानकारी दिएका छन् ।
उनले महोत्सव सञ्चालन गर्ने भन्दै आयोजकले पसल, कवलको स्टल वुकिङ्ग गराइरहेको बताए । पशुपतिनाथ क्षेत्र बिकाश कोषले संकलन गर्दै आएको राजश्वलाई नै प्रभावित पार्नेगरि वडा अध्यक्षले स्विकृति प्रदान गर्नु नियम विपरित भएको र यसमा आर्थिक चलखेल भएको हुनसक्ने स्थानीय व्यवसायी राजिव श्रेष्ठको भनाई छ ।
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदिप ढकालले भने पशुपति क्षेत्रभित्र यसबर्ष कुनै मेलापर्व, महोत्सव नचलाउने कोषको कार्यसम्पादन समितिको निर्णय भएकाले कोही कसैलाई महोत्सव सञ्चालन गर्ने स्विकृति नदिएको बताए । उनले पशुपति क्षेत्रभित्र कुनै महोत्सव हुने वारेमा आफुलाई कुनै जानकारी नभएको दाबी गरे । सदस्य सचिव ढकालले यदि कोही कसैले अनधिकृत रुपमा कोषको क्षेत्रभित्र महोत्सव चलाएको खण्डमा कोषले प्रशासनलाई जानकारी दिएर जिल्ला प्रशासनमार्फत कानुनी प्रक्रिया अगाडि बढाइने बताए ।