यसरी कमाउदैं छन् वार्षिक तीस लाख पूर्वप्राध्यापक

219

कपिलवस्तु । यहाँको वाणगंगा–१ जीतपुरका अर्जुनप्रसाद पोख्रेलले व्यावसायिक मौरीपालनबाट राम्रो आम्दानी गर्न सफल हुनुभएको छ। गाउँघरमा मास्टरको परिचय बनाउनुभएका पोख्रेलले अब भने व्यावसायिक मौरीपालक किसानका रुपमा परिचय बनाउन थाल्नुभएको हो । उमेरले ४५ वर्ष काटेका उहाँले डेढ दशकदेखि व्यावसायिक मौरीपालन पेशा अँगाल्दै आउनुभएको छ । बीस घार मौरीबाट व्यवसाय शुरु गर्नुभएका उहाँले अहिले बढाएर १०० घार पु¥याउनुभएको छ । आफ्नै घर वरिपरिको सात रोपनी क्षेत्रफलमा व्यवसाय गर्नुभएका पोख्रेलले अबको केही महिनापछि एक हजार घार मौरी पाल्ने योजना बनाउनुभएको छ ।
एक सय घार मौरीबाट उहाँले वार्षिक ४० क्विन्टल मह उत्पादन गर्दै आउनुभएको छ । मौरीको मह, मैन र गोला गरी वार्षिक रु ३० लाखसम्म आम्दानी हुने गरेको पोख्रेलले बताउनुभयो । अहिले प्रतिकिलोग्राम महको मूल्य रु ८०० छ । त्यस्तै मौरीसहितको घारलाई रु सात हजार र प्रतिखाली घार रु तीन हजारका दरले बिक्री हुने गरेका छन् । वार्षिकरुपमा १०० देखि २५० वटासम्म बिक्री गर्ने गरेको छ । सबै खर्च कटाएर कम्तीमा पनि वार्षिक रु १५ लाख बचत हुने उहाँको भनाइ छ । उहाँले उत्पादन गरेको मह प्रदेश नं ५ मा सबै जिल्लाका साथै काठमाडौँमा समेत जाने गरेको छ । मौरीपालनका लागि उहाँले अहिलेसम्म रु ४० लाख लगानी लगाउनुभएको छ ।

अर्थशास्त्र र समाजशास्त्र विषयबाट डबल डिग्री गर्नुभएका पोख्रेलले काममा सानो ठूलो केही नहुने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “मैले दुई विषयमा डिग्री गरेको छु, एकदशक अध्यापन पेशा अँगालेको छु”, “तर मौरीमै भविष्य देखेर मौरीपालन व्यवसाय थालेको हुँ ।” पेशा सानो ठूलोभन्दा पनि मिहिनेत ठूलो कुरो हो पोख्रलले भन्नुभयो ।

श्रीमान् श्रीमती मिलेर मौरीपालन व्यवसाय शुरु गर्नुभएका पोख्रेलले आफूबाहेक अन्य पाँच जनालाई समेत रोजगारी दिनुभएको छ ।
देशका लाखौँ युवा विदेशको खाडीमा छन् । उनीहरुलाई स्वदेशमै रोजगारी सिर्जना गरी नेपाल फर्काउनुपर्ने उहाँको भनाइ छ । यो व्यवसाय पढेलेखेकाले पनि गर्न सकिन्छ भनेर आफैँले सुरुआत गरेको पोख्रेलको भनाइ छ । उहाँले भन्नुभयो, “त्यो काम आफूजस्ता पढेलेखेका बाटै सुरुआत गर्नुपर्ने देखेर मौरीपालन व्यवसाय थालेको हुँ । यस व्यवसायबाट आफूसँगै अरुलाई पनि रोजगारी दिन सकिने उहाँको तर्क छ ।”
नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेडका अध्यक्षसमेत रहनुभएका पोख्रेल देशलाई महमा आत्मनिर्भर बनाउने अभियानमा आफू लागेको बताउनुभयो । अझै पनि मह उत्पादनमा देश आत्मनिर्भर नभएको उहाँले बताउनुभयो । अझै पनि राज्यले ६० प्रतिशत मह विदेशबाट निर्यात गर्दै आएको उहाँको दाबी छ ।
जिल्लामा ३०० बढी किसानले व्यावसायिकरुपमा मौरीपालन व्यवसाय गरेको वाणगंगा मौरीपालन सहकारी संस्थाले जनाएको छ । जिल्लामा मौरीपालनका लागि चरण क्षेत्र राम्रो मानिएकाले व्यवसाय फष्टाएको सहकारीका अध्यक्ष लीलापति घिमिरेले बताउनुभयो ।
यहाँ दलहन, तेलहन प्रशस्तमात्रामा लगाइने भएको कारण मौरीपालनका लागि राम्रो भएको उहाँले बताउनुभयो । साथै साल, सिसौ, जंगली रुदिलो पनि राम्रै भएकाले तिनको फूल मौरीका लागि राम्रो आहार हुने किसान बताउँछन् । यहाँ मेलिफेरा जातको मौरी पालिने गरिएको छ । रासस