प्रदेश तीनको पहिलो बैठक आज

333

माघ १८,
मकवानपुर । प्रदेश ३ को पहिलो बैठक अस्थायी राजधानी हेटौँडामा बस्दैछ। बैठक बिहीबार दिउँसो १ बजे प्रदेशसभा भवन बनाइएको क्षेत्रीय शिक्षा निर्देशनालयको भवनमा बस्नेछ। पहिलो बैठकको सभामुखको भूमिका ज्येष्ठ सदस्य डोरमणि पौडेलले गर्नेछन्। पहिलो बैठक भएकाले सुरुमा सभामुखले प्रदेश प्रमुखबाट बैठक आह्वान भएको पत्र पढेर सुनाउने कार्यसूची छ। त्यसपछि प्रदेशसभामा प्रतिनिधित्व गर्ने सात राजनीतिक दलका प्रतिनिधिलाई बोल्न दिइनेछ। बिहीबारको बैठकबाट प्रदेशसभा सञ्चालन कार्यविधि पारित गरिने प्रदेश सचिव चतुर्भुज ज्ञवालीले बताए। कार्यविधि पारित भएपछि प्रदेशसभाको नियमित कामकाज अघि बढाउन सहज हुनेछ। बैठकले सभामुख चयनका लागि निर्वाचन मिति तोक्ने सचिव ज्ञवालीले बताए। अर्को बैठक राष्ट्रियसभा निर्वाचनपछि बस्ने र त्यसले सभामुखको निर्वाचन गर्ने उनले बताए। सभामुखको निर्वाचन माघ २९ गते गर्ने तयारी गरिएको छ। सातवटै प्रदेशमध्येको पहिलो बैठक भएकाले सकभर व्यवस्थित रूपमा सञ्चालनको तयारी गरिएको सचिव ज्ञवालीको भनाइ छ। अधिवेशन कक्षमा २० जना सञ्चारकर्मीलाई प्रवेशको व्यवस्था मिलाइएको छ। अन्यलाई भने बैठक कक्ष बाहिर बसेर भित्रका गतिविधिको प्रत्यक्ष भिडियो हेर्दै रिपोर्टिङको व्यवस्था मिलाइएको प्रदेशसभा सचिवालयले बताएको छ।बैठकमा भाग लिन प्रदेशका सबै जिल्लाका अधिकांश प्रदेश सांसद् बुधबार बेलुकी हेटौँडा पुगिसकेका छन् भने केही आज पुग्ने क्रममा रहेका छन् अधिवेशनमा प्रदेश प्रमुख अनुराधा कोइराला भने सहभागी नहुने बताइएको छ। प्रदेश ३ मा एक सय १० जना सांसद् छन्।