फागुन १५,
बझाङ । दैनिक के खाउँ र के लाउँ भन्ने पीडामा अवस्थामा भएकाले जिल्लाका वादी समुदायका महिलाहरुको जिवनयापनमा समस्या भएको छ । आफ्ना साना नानीलाई बाबा मीठो खाने कुरा लिएर आउने आशमा आफ्ना साना नानीलाई थुमुथुम्याएर राख्छन् । विसं २०६८ को जनगणनाअनुसार ३८ हजार ६०३ जनसंख्या रहेको बादी समुदायलाई बादी, नेपाली, पातर, दमाईं, बैराग, सिंह, कुमाल, दास, गन्धर्व र गाइने आदि थरबाट पनि सम्बोधन गरिन्छ । जस्मा पुरुष १८ हजार २९८ र महिला २० हजार ३०५ जना छन् । तीमध्ये ग्रामीण क्षेत्रमा ३० हजार ८८२ र शहरमा सात हजार ७२१ जनाको बसोबास रहेको छ । बूढापाका पनि आफ्ना छोराले केही ल्याउँछ की भनी झुपडी कुरिरहन्छन् । थाहा छैन उनीहरूलाई सारङ्गी रेटेको भरमा कति कमाइ हुने हो । कमाएको पैसा नून तेलमै सकिन्छ छोराछोरीको शरीर ढाक्न त कठिन भएको उनीहरूलाई े पढ्ने र पढाउने त धेरै टाढाको कुरा हो । सरकारले २०६५ सालमा बादी समुदायका महिलालाई यौनशोषणमुक्त र पुनःस्थापनाको घोषणा गरे पनि अहिलेसम्म त्यसको कार्यान्वयन हुन सकेको छैन । बादी समुदायका महिलाले २०६४ भदौ १ देखि ४८ दिनसम्म अधिकारका लागि सिंहदरबार पश्चिमढोका अगाडि अर्धनग्न जुलुस निकालेर संघर्ष गरेपछि २०६५ पुस २३ गतेको मन्त्रिपरिषद्को निर्णयले उनीहरूलाई यौनशोषण मुक्त गर्नाका साथै पुनःस्थापना समेत गर्ने घोषणा गरेको थियो तर घोषणा भएको आठ वर्ष बितिसक्दासमेत त्यसको कार्यान्वयन हुन नसक्दा देशका विभिन्न ठाउँमा बस्दै आएका बादी समुदायले अझैसम्म समस्या झेल्दै आएका हुन् । पुनःस्थापना नहुँदा अहिले पनि कतिपय बादी समुदायका महिलाले जीविकोपार्जनका लागि लुकीछिपी देह व्यापार गर्न बाध्य भएको अधिकारकर्मीको भनाइ छ । श्रीमान् हुनेहरू सारङ्गी बजाएर घर खर्च जुटाउँछन् तर श्रीमान् नभएकाहरूको कथाव्यथा भने झनै दुःखदायी छ । ज्याला मजदुरी मिले पनि रु १०० देखि रु २०० भन्दा बढी नदिने भएकाले उनीहरू देह व्यपारमा लोगको बताउनुहुन्छ चैनपुरकी राधा बादी । दाङ, कैलाली, सल्यान, रोल्पा, बर्दिया, सुर्खेत, बझाङ, बाँकेलगायतका जिल्लामा बादी समुदायको बसोबास छ । सो समुदायको उत्थानका लागि राज्यबाट अर्धनग्न जुलुसमा चर्चामा आउनुभएकी राष्ट्रिय बादी अधिकार संघर्ष समितिकी अध्यक्ष उमादेवी बादीले सरकारले पुनःस्थापनाको नाममा यसरी नै आफूहरूलाई आलटाल गरिरहे पुनः कडा संघर्ष गर्ने चेतावनी दिनुहुन्छ । गरिबको मुक्तिका निम्ति काम गर्नु परेको भन्दै राता कपडामा ठूला अक्षरले नारा लेख्दै नारा जुलुस गर्नेहरूले उनीहरूकै अभावलाई बेचेर ठूलाठूला महल खडा गरिसकेका छन् तर गरिब निमुखा दलित बादीको जीवनमा भने कुनै परिवर्तन आएको छैन । बझाङको सदरमुकाम चैनपुरको बादी बस्तीमा बस्नेहरूको आँगन करेसाबारीसमेत छैन । खर, जस्ता र टायलको छानामुनि आफ्नो ज्यान लुकाइरहेका बादीहरू १० वटा घरमा ७० जनासम्म बस्नुपरेको बताउनुहुन्छ केशरी बादी । नाचगानबाट जीविकोपार्जन गर्दै घुमन्ते जीवन बिताउने वादी समुदाय विस्तारै जीविकोपार्जनका लागि मादल बनाउने, सुल्पा, हुक्का, चिलिम, माटाका जस्ता भाँडा बनाउनाका साथै माछा मार्ने कामसमेत गर्दै आएका छन् ।
राससबाट