फागुन ११,
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएको एक साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। ओली नेतृत्वको सरकारलाई समर्थन गरेको माओवादी केन्द्रले पार्टीबाट सरकारमा जाने मन्त्रीको टुंगो लगाउन नसक्दा शुक्रबार पनि मन्त्रिपरिषद् विस्तारको सम्भावना न्यून रहेको हो। माओवादी केन्द्रको केन्द्रीय कार्यालय सदस्यको बिहीबार बसेको बैठकले मन्त्री छान्ने जिम्मा शीर्ष ३ नेतालाई दिएको थियो। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई बैठकले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्री छान्ने जिम्मेवारी दिएको थियो। तर, माओवादीले शुक्रबार पनि मन्त्रीको टुंगो लगाउने सम्भावना न्यून रहेको पार्टीका नेता श्रेष्ठले जानकारी दिए। उनले भने,‘हामीले बैठक त गरिरहेका छौँ। तर आज मन्त्रीको टुंगो लाग्ने सम्भावना चाहिँ कम छ।’ माओवादीको केन्द्रीय कार्यालय सदस्य बैठकले मन्त्री बनाउँदा पुराना, नयाँ र अनुभवीलाई समेट्ने गरी मापदण्ड तयार पारेको थियो। पहिला मन्त्री भइसकेकाको हकमा राम्रो कार्यसम्पादन गरेकालाई मन्त्री बनाउने माओवादीले निर्णय गरेको थियो। यस्तै, मन्त्री बनाउँदा ७ वटै प्रदेशबाट समेट्नसमेत केन्द्रीय कार्यालय सदस्यले नेतृत्वलाई सुझाव दिएका थिए। एमालेसँगको भागबन्डामा ७ मन्त्रालय पाएको माओवादीमा दर्जन बढी नेताले आकांक्षा राखेपछि मन्त्रीको नाम टुंगो लगाउन ढिला भएको हो।