मधेशवादी दलको यस्तो रणनिति

149

माघ ९,
काठमाडौँ । राष्ट्रिय सभाको चुनावमा लोकतान्त्रिक गठबन्धनसँग तालेमल गर्ने कि वाम गठबन्धनसँग, त्यस विषयमा राष्ट्रिय जनता पार्टी नेपाल आन्यौलनमा देखिएको छ ।
हिजो राजपा नेपालको राजनीतिक समितिको वैठकमा यिनै विषयमा बहस चलेको थियो । बहसको शुरुवात राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले गरेका थिए । उनले वाम गठबन्धनसँग तालमेल गरेर जाँदा फाइदा हुने धारणा बैठकमा राखेका थिए । महतोको तर्क थियो – काँग्रेसले पाँच सीट दिन मानिरहेको छैन । तर वाम गठबन्धनसँग संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालले तालमेल गर्दा दुई नम्बर प्रदेशमा आठवटा सीट जित्ने देखिएको छ ।
राजपा नेपाल र फोरम नेपालले लोकतान्त्रिक गठबन्धनसँग चुनावी तालमेलका लागि कुरा गरिरहँदा राजेन्द्र महतोको तर्फबाट यस्तो धारणा आएपछि अन्य नेताहरु आश्चर्यमा परेका थिए । अध्यक्ष मण्डलका सदस्य महतोले फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वाम गठबन्धनसँग कुरा गरिरहेको सन्दर्भ उल्लेख गर्दै वाम गठबन्धनसँग तालमेल गर्दा फाइदा हुन्छ भने त्यसो गर्न आपत्ति मान्न नहुने धारणा राखेको बैठकमा सहभागि एक नेताले बताए ।

उनको कुरालाई पार्टीका अध्यक्ष लक्ष्मण लाल कर्णले समर्थन गरेका थिए । महतो पक्षका लालले मधेशवादी दललाई वाम गठबन्धनसँग तालमेल गर्दा फाइदा हुन्छ भने त्यही गर्नुपर्ने धारणा राखेका थिए । ‘काँग्रेस र एमालेमा कुनै तात्विक फरक छैन, मधेशका लागी दुवै दल समान हो । त्यसैले बाम गठबन्धनसँग तालमेल गर्दा मधेशवादी दलले बढी सीट पाउँछ भने तालमेल गर्दा राम्रो हुन्छ,’ उनको भनाई उद्धृत गर्दै बैठकमा सहभागी नेताले बताए । पार्टीका अर्का उपाध्यक्ष गोविन्द चौधरीले पनि पार्टीलाई जोसँग फाइदा हुन्छ, उसैसँग तालमेल गर्नुपर्ने सुझाव दिएका थिए । -रातोपाटीबाट