सरकारले फ्रि भिसा र टिकट छानविन गर्दै

316

चैत २९,
काठमाडौं । सरकारले लागु भएको झण्डै दुई वर्षपछि फ्रि भिसा, फ्रि टिकट छानविन सुरु गरेको छ । वैदेशिक रोजगार विभागले म्यानपावरलाई पत्रचार गर्दै निर्णय लागु भएदेखि हालसम्म पठाएका कामदारको विवरण मागेको हो । वैसाख २ गते भित्रमा सबै म्यानपावरलाई पठाएका कामदारको विवरण बुझाउन भनेको छ । म्यानपावर कम्पनीसित विभागले कामदारको विवरणमा पूर्व स्वीकृति संख्या, अन्तिम स्वीकृतिको संख्या, देश, कम्पनी मागेको छ । यस्तै लागतका बारेमा शुन्य लागत, दश हजार सम्म तिरेको, हालसम्म प्राप्त रकम र रकम जम्मा गरेको बैंकको नाम सहित बुझाउन भनेको छ । रोजगारदाताबाट हवाई टिकट वापत रकम प्राप्त भएको भए प्राप्त रकम, बैंक तथा रेमिट्यान्सको नाम र टिकट प्राप्त भएको भए एयरलाइन्सको नाम र टिकट नम्बर मागेको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेले फ्रि भिसा फ्रि टिकट कार्यन्वयनका विषयमा अब कडा निर्णय लिने बेला आएको बताए । पहिले २२ गते भित्र बुझाउन भनिएपनि व्यवसायीको मागका आधारमा १० दिन म्याद थपिएको र २ गते विवरण आएपछि छानविन थाल्ने उनको भनाई छ । यता वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकालले सरकारले अनावश्यक विवरण मागेको बताए । ‘सरकारसित यी सबै विवरण छ, फ्रि भिसा, फ्रि टिकट अनुगमन गर्नु पर्दैन, कार्यन्वयन भएकै छैन’ अध्यक्ष ढकालले भने ।