मण्डनदेउपुरका १ सय भन्दा बढी युवा लोकतान्त्रिक फोरममा

673

चैत्र २५,काभ्रे ।
काभ्रे मण्डनदेउपुर नगरपालिकाका युवाहरुमा नेपाल लोकतान्त्रिक फोरम प्रति आकर्षण बढेको छ । हिजो एक कार्यक्रमबीच किशोर श्रेष्ठको नेतृत्वमा १ सय भन्दा बढी युवा लोकतान्त्रिक फोरममा प्रवेश गरेका छन् । काभ्रेको साँगामा आयोजित मण्डनदेउपुर नगरपालिका अगुवा कार्यकर्ता भेलाका प्रमुख अतिथि पार्टीका केन्द्रिय सदस्य गणेश लामा, पार्टीका केन्द्रिय नेता रामेश्वर ढकाल, कान्छा लामा, जिल्ला अध्यक्ष गोविन्द थापाले नव प्रवेशीहरुलाई स्वागत गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य गणेश लामाले पछिल्लो समय नेपाल लोकतान्त्रिक फोरममा प्रवेशको लहरै चलेको भन्दै यसलाई देशव्यापी बनाएर पार्टीलाई सरकारको नेतृत्व गर्ने अवस्थामा पुर्याउन युवाहरुले भूमिका खेल्नु पर्ने धारणा राखेका थिए । केन्द्रिय अध्यक्ष विजय कुमार गच्छदारको नेतृत्व प्रति भरोसा बढेको उल्लेख गर्दै अब सैदान्तिक भाषण भन्दा विकास तर्क लाग्नु पर्ने विचार व्यक्त गरे ।

केन्द्रिय नेता रामेश्वर ढकालले १६ बुँदे सहमति कार्यन्वयन नगरेकै कारण वार्तामा राजनीतिक समस्या बल्झेको भन्दै प्रमुख ३ दलको विकल्पको रुपमा नेपाल लोकतान्त्रिक फोरमलाई अब जनताले रोज्ने धारणा राखे । नवप्रवेशीलाई जिल्ला अध्यक्ष गोविन्द थापाले उचित जिम्मेवारी दिने प्रतिवद्धता व्यक्त गरे । जिल्ला उपाध्यक्ष प्रविण धितालले कार्यक्रमको संचालन गरेका थिए भने भरत सापकोटा संयोजक र किशोर विद्याधर श्रेष्ठ सह-संयोजक रहेको १५ सदस्य नगर कमिटी गठन गरिएको छ ।