एकै चरणमा निर्वाचन गर्न काँग्रेसको सुझाव

256

चैत २५, काठमाडौं।
मधेसको समस्या समाधान गर्न स्थानीय तहको निर्वाचन दुई चरणमा गर्न सकिन्छ भन्ने चर्चा चलिरहेका बेला नेपाली काँग्रेसले भने एकै चरणमा निर्वाचन हुनुपर्ने जनाएको छ । आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको तयारी र घोषणापत्रका बारेमा सुझाव लिन आज यहाँ आयोजित पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा नेताले सो धारणा राखेका थिए।
बैठकमा अधिकांश केन्द्रीय सदस्य र सांसदले मुलुकमा निर्वाचन हुन नदिने योजनाका साथ दुई चरणमा निर्वाचन गर्ने कुरा चर्चामा ल्याइएको बताउँदै निर्वाचन एकै चरणमा र तोकिएकै मितिमै हुनुपर्ने धारणा राखेका थिए । केन्द्रीय सदस्य तथा सांसद रामकृष्ण यादवले संशोधनमार्फत संविधानको स्वीकार्यता बढाएर एकै चरणमा निर्वाचन हुनुपर्ने धारणा राखे ।
त्यस्तै सांसद रामहरि खतिवडाले आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको माग सम्बोधन गरी निर्वाचनमा सबै सहभागी हुने वातावरण बनाउन व्यवस्थापिका–संसद्मा दर्ता संविधान संशोधन प्रस्तावलाई प्रक्रियामा लैजानुपर्ने धारणा राखेको जानकारी दिए ।
बैठकमा सहभागी नेताले निर्वाचनको सम्पूर्ण तयारी भइरहेका बेला दुई चरणमा निर्वाचन हुनुपर्छ भन्ने कुरा आउनु सत्ता लम्ब्याउने मनशायका साथ आएको भन्दै आशङ्का व्यक्त गरेका थिए । उपप्रधानमन्त्रीको बरियताको विषय सार्वजनिक भई चर्चामा आउँदा जनतामाझ नकारात्मक सन्देश गएको भन्दै केन्द्रीय सदस्यले पार्टीको नेतृत्व तहबाटै उक्त विवाद हल गर्नुपर्ने सुझाव दिएका थिए ।
पार्टीका नेता एवम् सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले विगतको घोषणापत्र, पार्टीको पछिल्लो महाधिवेशनले पारित गरेको दस्तावेज र स्थानीय आवश्यकताका मुद्दाका आधारमा घोषणापत्र बन्नुपर्ने धारणा राखे । मन्त्री केसीले समग्र राष्ट्रियता बलियो बनाउन मधेसका माग सम्बोधन गर्नुपर्ने र निर्वाचनमा सबैले सहभागिता जनाउने वातावरण बनाउनुपर्ने धारणा राखे । नेता फरमुल्ला मन्सुरले संविधान संशोधनको मुद्दा पारित गर्न संसद्मा दुईतिहाइ बहुमत पुग्दैन भनेर संशोधनको प्रस्ताव प्रक्रियामा अघि नबढाउनु गलत भएको भन्दै नेतृत्वप्रति गुनासो गरे।
घोषणापत्र तयारी समितिका संयोजक महेश आचार्यले काँग्रेसले मुलुकका हरेक राजनीतिक परिवर्तनको नेतृत्व गरेको र सबै सङ्कटको समाधान पनि काँग्रेसले नै गरेकाले मुलुकको वर्तमान सङ्कटको समाधानमा पुनः पार्टीको भूमिका एकपटक सम्झनामा ल्याउनुपर्ने बताए । अहिले पनि मधेसको समस्या समाधानमा काँग्रेसले अग्रसरता लिइरहेको उल्लेख गर्दै नेता आचार्यले काँग्रेसले स्थापनाकालदेखि नै समावेशी, सङ्घीयता र विकेन्द्रीकरण तथा संविधानसभाको नीति अवलम्बन गर्दै आएको बारेमा जनतालाई स्पष्ट जानकारी गराउनुपर्ने बताए। बैठकमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले तोकिएको मितिमा निर्वाचन हुनेमा आशङ्का नगर्न सबै नेता, कार्यकर्तालाई आग्रह गर्दै एकढिक्का भएर निर्वाचनमा होमिन निर्देशन दिए ।