प्रमुख निर्वाचन आयुक्तलाई महिलाकै चिन्ता

245

चैत ११, काठमाडौँ ।
प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले उम्मेदवारको छनोट गर्दा महिला विजयी गराउने लक्ष्यका साथ गर्न आग्रह गरेका छन्।
निर्वाचन आयोगले आज आयोजना गरेको ‘स्थानीय तह निर्वाचनमा लैङ्गिक तथा समावेशी सहभागितासम्बन्धी संवाद तथा अन्तक्र्रिया’ कार्यक्रमलाई सम्बोधन गर्दै डा यादवले स्थानीय तहमा ४० प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गरिएको जानकारी दिए । स्थानीय तह निर्वाचन ऐनले प्रत्येक वडामा दुई महिलामध्ये एक दलित महिला हुनैपर्ने पनि व्यवस्था गरेको छ ।
डा यादवले निर्वाचनको प्रचारप्रसार तथा उम्मेदवारीदेखि मतदानसम्मका कार्यमा महिला, दलित, अल्पङ्ख्यकलाई प्राथमिकतामा राख्न पनि अनुरोध गरे ।
यस्तै आयुक्त नरेन्द्र दाहालले स्थानीय तह निर्वाचनले समावेशी पक्षलाई प्राथमिकता दिएको बताउँदै सक्षम उम्मेदवार उठाएर लोकतन्त्रको जगलाई बलियो बनाउने कार्यमा सहयोग गर्न दलका नेतासँग आग्रह गरे ।
आयोगका सहसचिव दीपक सुवेदीले पुरुष र महिलाको समान पहुँच स्थापित गर्न कानुनी व्यवस्था भएकाले त्यसको प्रयोग व्यवहारमा आउनुपर्ने बताए । आयोगका सहसचिव नवराज ढकालले ‘स्थानीय तह निर्वाचनमा लैङ्गिक तथा समावेशी सहभागिता’ र उपसचिव मुकुन्द शर्माले ‘लैङ्गिक सहभागिताको अवस्था’बारे कार्यपत्र प्रस्तुत गरेका थिए। आयोगले ‘स्थानीय तहमा लैङ्गिक तथा समावेशी सहभागिता’ विषयमा आयोगमा दर्ता भएका राजनीतिक दलमध्ये पहिलो चरणमा आज ५० राजनीतिक दलका प्रतिनिधिसँग अन्तक्र्रिया गरेको हो ।