कांग्रेसलाई खुम्च्याउने र माओवादीलाई रोक्ने एमालेको रणनिति

238

चैत ५,
सुर्खेत । मेची महाकाली राष्ट्रिय अभियानको औपचारिक समापन गरेका भोलिपल्ट नेकपा एमालेले ‘सन्देशसभा’ नाम दिएर सुर्खेतमा आमसभा गर्‍यो ।
सभामा एमालेका शीर्ष नेता जसरी प्रस्तुत भए, त्यसको सार के थियो भने प्रदेश नम्बर ६ एमालेका कारण बनेको हो । एमालेका जिल्ला र क्षेत्रका नेतादेखि शीर्ष नेतासम्मले सुर्खेतको सभामा ६ नम्बर प्रदेश निर्माणको श्रेय लिन कुनै कसर बाँकी राखेनन् ।
मेची महाकाली अभियानका क्रममा साना ठूला गरेर २६ ओटा सभा गरेको एमालेले शनिबार सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा निकालेको जुलुस र सभा ती सबैभन्दा ठूलो थियो । किनकी ६ नम्बर प्रदेशको राजधानी घोषणा मात्र हुन बाँकी रहेको सुर्खेतको सभामा भाग लिन कणरलीका एमाले कार्यकर्ता समेत बस रिजर्भ गरेर झरेका थिए ।
सुर्खेतको सभा अपेक्षा गरेको भन्दा विशाल भएपछि उत्साहित बनेका एमाले अध्यक्ष केपी ओली लगायत शीर्ष नेताहरुले प्रदेश नम्बर ६ एमालेको कारण सम्भव भएकाले आगामी चुनावमा विजयको हकदार पनि एमालेनै हुनुपर्ने जिकिर गरे ।
प्रदेश नम्बर ६ बन्नुअघि सुर्खेत र जुम्लामा ठूला आन्दोलन भएका थिए, जसको अगुवाई गर्ने मध्ये एक एमाले पोलिटव्यूरो सदस्य यमलाल कँडेलले थिए । सुर्खेतलाई राजधानी बनाउने गरी भएको आन्दोलन पनि थियो त्यो । त्यसैले शनिबार एमालेको सभामा सुर्खेत सदरमुकामका व्यापारी र सर्वसाधारण पनि ओइरिए ।
एमालेले यो मौकालाई चुनाव प्रचारको शैलीमा उपयोग गर्दै ६ नम्बर प्रदेशको विकासका लागि एमालेसँग योजना रहेको नेताहरुले बताए ।
पोलिटव्यूरो सदस्य प्रकाश ज्वालाले सभालाई सम्बोधन गर्दै भने, ‘यो प्रदेश एमालेले लडेर बनाएको हो, यसको विकास गर्ने खाका पनि एमालेसँग मात्रै रहेकाले आउने तीनओटै चुनावमा एमालेलाई भोट दिनुभएन भने यो प्रदेश सबैभन्दा पनि कमजोर हुनेछ । जसले प्रदेशको परिकल्पना गरेको हो, उसैले मात्र यसको विकास गर्छ ।’
शुक्रबार बेलुकासम्म नेपालगञ्जको स्नेहा होटलमा आराम गरिरहँदा एमाले अध्यक्ष ओली सुर्खेतको सभामा जाने नजाने निश्चित थिएन । तर, आयोजकहरुलेसभा अहिलेसम्मकै ठूलो हुने र प्रदेश स्थापनाको लागि भएको आन्दोलनका सहभागी सबै आउने भन्दै ओलीलाई सुर्खेत आउन दबाव दिए ।
नभन्दै सुर्खेतमा एमालेले ६ नम्बर प्रदेशको सबै पार्टी पंक्ति परिचालन गरेर वृहत शक्ति प्रदर्शन गर्‍यो । सुर्खेतका सडक चोकहरुबाट आ(आफ्ना झाँकी सहित जुलुसहरु निस्किए ।
एमालेले सुर्खेतको शक्ति प्रदर्शनलाई वृहत बनाउन जिल्लाका बिभिन्न गाउँ गाउँबाट सर्वसाधारणलाई सदरमुकाममा उतारेको थियो । सभामा सहभागी हुन दैलेख, कालिकोट, जाजरकोट, सल्यानदेखिका एमाले कार्यकर्ता र समर्थक सुर्खेत सदरमुकाममा झरे ।
एमालेका प्रदेशस्तरीय नेताहरुले यो सभा र जनप्रदर्शनलाई प्रतिष्ठाको विषय बनाएका थिए । विशाल सहभागिताबाट उत्साहित भएका अध्यक्ष ओली, बरिष्ठ नेता नेपाल र महासचिव ईश्वर पोखरेलले ६ नम्बर प्रदेश सीमांकनको श्रेय लिन कुनै कन्जुस्याइ गरेनन् ।
त्रिपक्षीय टक्करको प्रदेश
एमालेले सुर्खेतको शक्ति प्रदर्शन मार्फत ६ नम्बर प्रदेशमा आफ्नो बर्चश्व देखाउन खोजे पनि यो प्रदेश नै यस्तो प्रदेश हो, जहाँ तीन ठूला दल कांग्रेस, एमाले र माओवादी लगभग त्रिपक्षीय प्रतिस्पर्धामै छन् । सातओटा प्रदेशमध्ये माओवादीेले आशा गरेको प्रदेश पनि यहि नै हो । किनकी यो प्रदेशमा माओवादी जनयुद्धकालका आधार क्षेत्रहरु पनि पर्छन् ।
२०७० सालको चुनावी परिणाम हेर्दा ६ नम्बर प्रदेशमा ६ सिट जितेर कांग्रेस पहिलो शक्तिका रुपमा छन् । एमालेले ५ सिट जितेर कांग्रेसको हाराभरी शक्तिका रुपमा दोस्रो स्थान पाएको छ भने माओवादीले पनि ४ सिट सुरक्षित गरेर त्रिपक्षीय प्रतिस्पर्धी शक्तिका रुपमा रहेको छ ।
कांग्रेसले सुर्खेतका तीन ओटै सिट जितेको छ । तीनै सिटमा दोस्रो भएको एमालेलाई त्यस चुनावमा बागी उम्मेदवारले करीव ५ हजार मत कटाएर धक्का दिएका थिए । त्यस्तै कांग्रेसले जाजरकोट, हुम्ला र जुम्लामा एक एक सिट जितेको छ । अनलाइन खबरबाट