आमिर नाजिर मुस्किलले १५ वर्ष पुगेका थिए। उनी गत बिहीबार मारिए। उनको शवलाई बेहुलाझैँ सिंगारिसकेपछि सद्गति गरियो। उनको आमाले मृत छोरालाई दुध पिलाउन खोजेको फोटो भाइरल भयो। त्यसले कास्मिरका जनताको मनस्थितिलाई राम्रोसँग दर्शाउँथ्यो।
आमिर हुलदंगा गर्ने भीडको सदस्य भएको जनाइयो, जसमध्ये धेरैले श्रीनगरबाट ३५ किलोमिटर टाढा रहेको पद्गमपुर गाउँमा सुरक्षा फौजले आतंकवादविरोधी अपरेशन सुरु गरेपछि सुरक्षाकर्मीमाथि ढुंगा वर्षाएका थिए। करिब १० घण्टा लामो गोलाबारीपछि दुई आतंककारी मारिए। आमिर सुरक्षा बलको गोलीबाट मारिए। उनलाई जानाजान निशाना बनाइएको थियो वा दुर्घटनावश उनलाई गोली लागेको थियो भन्ने कुरा यहाँ अहिले बहसको विषय बनेको छ।
लाल दिद नामले परिचित १४औँ शताब्दीकी रहस्यवादी कवि लल्लेश्वरीको निवासका रुपमा पद्गमपुरले मलाई हमेसा मोहित बनाउँछ। ‘पद्गमपुरका लल्ला जसले अमृतको पनि अमृत पिइन्’ भन्ने उनको पंक्तिले पद्गमपुरसँग उनको सम्बन्धलाई व्याख्या गर्दछ।
यी शैव रहस्यवादी विश्वास र धार्मिक पहिचानलाई परिवर्तन गर्न समर्थ छिन्। उनी एक र सबैकी हुन्। उनी कास्मिरमा सबैबाट सम्मानित छिन्। त्यसैले कष्टलाई धैर्य र कृपाका साथ सामना गर्ने प्रत्येक साहसी महिलालाई आज पनि कास्मिर उपत्यकामा लाल दिद नामले पुकारिन्छ।
आमिरको दुःखद् मृत्युपछि हलिमाले आफ्नो मृत छोरालाई दूध किन दिइन् भनेर म चकित परेँ। के तिनी उसलाई अमृत दिइरहेकी थिइन्? लल्लेश्वरीले निकै पहिले नै अमृत पिइसकेको कुरा के उनलाई थाहा छैन?
उनको घरमा जम्मा भएको भीडले गोलीको शिकार बनेको आमिरलाई सहिद घोषणा गर्यो। र सुक्ति भन्छ, सहिद कहिल्यै मर्दैन। हलिमा र उनको परिवारसामु यो नयाँ खालको सत्यलाई स्वीकार्नुबाहेक अर्को कुनै विकल्प थिएन, जहाँ मृत्युमा शोक मनाइँदैन बरु उत्सव मनाइन्छ। उनको अन्त्येष्टिमा जम्मा भएका हजारौँले ‘आमिर तिम्रो रगतबाटै इन्कलाब आउनेछ!’ जस्ता नाराले गगन थर्काए। तर जब मानिस फर्किन थाले हलिमाको मुटु चिर्दै तीरजस्तो रोदन निस्कियोः ‘मेरो बच्चा कहाँ गयो, उसलाई फिर्ता ल्याऊ।’
ती किशोरको मृत्यु एउटा ठूलो राजनीतिक कथ्यमा समाहित भयो, जहाँ अक्सर मृत्युले पृथकतावादी आन्दोलनलाई परिभाषित गर्ने गर्दछ। आमिरको फेसबुक प्रोफाइलले उनी नौ कक्षाको विद्यार्थी भएको देखाउँथ्यो। उनी ‘सेल्फी फ्रिक’ थिए, जो बाँच्न र जीवनको आनन्द उठाउन चाहन्थ्यो। सन् २०१६ को अशान्ति र त्यसपछिको हिउँदे विदाका कारण लामो समय बन्द भएर खुलेपछि आमिर भर्खर एक हप्ताअघिदेखि स्कुल जान थालेका थिए।
उनको हत्याको एक दिनपछि मैले उनको पितासँग कुरा गरेँ। नाजिर अहमद दार एक ईंटा भट्टामा आफ्नो दाजु साहिदसँगै दैनिक ज्यालादारीमा काम गर्छन्। उनीहरु आफ्नो क्षतिलाई पचाउने कोशिसमा थिए। मानिसहरुले आफ्नो छोराको ‘सहादत’ को खबर दिएका ती बिचरा बाबुले हिक्का छोड्दै अरु सबै केटाकेटीजस्तै आमिर पनि बाँच्न र संसार हेर्न चाहन्थे भन्ने कुरा सुनाए। घरबाट निस्किनुअघि आमिरले स्कुलको शुल्क तिर्न पन्ध्र सय रुपैँया मागेका थिए। केही घण्टापछि परिवारले उनको लास बुझ्यो।
शोक एक स्वभाविक मानवीय भावना हो, तर जब पीडितको मृत्युलाई सहादतको रुपमा महिमामण्डन गरिन्छ, तब क्षति र त्रासदीको भावनालाई प्राप्तिको भावनाले प्रतिस्थापित गर्दछ। त्यसैले अचम्म मान्नुपर्दैन, कास्मिरमा हत्या गरिएका हजारौँलाई भयंकर क्षतिको रुपमा होइन बरु पृथकतावादीहरुले ‘आजादी’ को लगानीका रुपमा व्याख्या गर्दै आएका छन्।
भावनात्मक सामाजिक विस्फोटले व्यक्तिहरुका लागि मानक निर्धारण गर्दछ। खासगरी पीडित परिवार र प्रायः गरिब तथा आवाजबिहीनहरुका लागि यो कुरा बढी सत्य हुन्छ।
आमिरको हत्याभन्दा केही घण्टाअघि मात्र पद्गमपुरमा सुरक्षा फौजको गोलीबाट मारिएका आतंककारी सफी सेरगुजरीकी पत्नी दिलसदालाई सैनिकहरुले भीडन्त भएको स्थानमा ल्याएका थिए। आफ्नो चार वर्षे सन्तान उजैरको साथमा आएकी दिलसदाले पतिलाई आत्मसमर्पण गर्नका लागि आग्रह गरिन्। तर उनले मृत्यु रोजे।
उनको पिताले आत्मसमर्पणको प्रस्ताव किन अस्वीकार गरे भन्ने बुझ्नका लागि उजैर अझै निकै सानै छन्। गोलीको पर्वाह नगरी उनलाई आत्मसमर्पणको लागि पत्नी र छोराले आग्रह गर्दा पनि उनले जीवनको सट्टा मृत्यु किन रोजे? यसको सजिलो उत्तर छैन। तर उजैर जब हुर्किनेछन्, उनले यसको एउटा उत्तर खोज्ने प्रयास पक्कै गर्नेछन्। गत २७ वर्षमा हामीले जन्मिनेबित्तिकै द्वन्द्वमा तानिएकाहरुलाई कुनै उत्तर दिएका छैनौँ।
आमिरजस्ता कलिला केटाहरु मारिइरहेका छन् किनभने उनीहरुले पनि यतिञ्जेल सही उत्तर प्राप्त गर्न सकेका छैनन्। अन्याथा कलिला मानिसहरुको ठूलो भीडले आतंककारीहरुलाई भगाउनका लागि किन सुरक्षा घेरा तोड्न खोज्थ्यो? के उनीहरुलाई थाहा छैन, आतंककारीहरुले सुरक्षा फौजसँग लड्नका लागि बन्दुक रोजेका छन्? जब उनीहरु घेरामा पर्छन्, तिनलाई आम मान्छेले उद्धार गर्नुपर्ने आवश्यकता किन?
यथार्थ के हो भने निराशाले मानिसलाई पागलपनको हदसम्म धकेलिरहेको छ। नत्र भने दुवै पक्षबाट गोलीको बौछार भइरहेको बेला कोही किन आफ्नो जीवन खतरा मोल्छ? सैनिकहरुको आदेश र सैनिक चिफ जनरल विपिन रावतको चेतावनीपछि पनि सुरक्षा अपरेसनलाई भीडले अवरोध गर्ने कुरा कास्मिरमा सामान्य भइसकेको छ।
गत २७ वर्षको हिंसामा २१ हजारभन्दा बढी आतंककारी मारिइसकेका छन्। सन् २००७ मा दक्षिणी कास्मिरलाई आतंकवादमुक्त क्षेत्र घोषणा गरिएको थियो। आज कास्मिरकै सबैभन्दा समस्याग्रस्त क्षेत्रमध्ये एक यही बनेको छ।
आतंकवादविरुद्धको युद्ध केवल आतंकवादीलाई नियन्त्रणमा लिने वा त्यसलाई सिध्याउनेबारे मात्र होइन। यो विद्रोही मानसिकता तथा अविश्वासको अवस्थालाई कसरी सामना गर्ने भन्नेबारे पनि हो। सैनिक र प्रहरीले एक विन्दुसम्म लड्न सक्छन्। बाँकी भाग दिगो संलग्नताको माध्यमबाट राजनीतिक स्तरमा सम्हाल्नुपर्छ। दुर्भाग्यवश, कास्मिरमा यही कुराको पूर्णतः अभाव छ।
सुरक्षा बलले चुकाइरहेको मूल्यलाई राजनीतिले महसुस गरेको देखिँदैन। लडाईंको क्रममा राज्यमा ५ हजार ६ सय भन्दा बढी जवानको ज्यान गइसकेको छ। यो द्वन्द्वमा भारतीय सेनाले बेहोर्नुपरेको यो क्षति पाकिस्तानविरुद्ध लडिएको कुनै पनि युद्धमा भन्दा बढी हो। युद्धमा सिध्याउनका लागि लड्ने भनेर सेनाको भूमिकालाई परिभाषित गरिएको हुन्छ। तर यो द्वन्द्वमा यसको अन्त्य वा निकासको नीतिबारे कसैलाई थाहा छैन।
हालिमाको छोरो स्कुल जान्छ र कात्रोमा फर्किन्छ तर यसलाई कसैले पनि मानवीय समस्याको रुपमा हेर्दैन। कास्मिरको दुःखान्त यही हो। कास्मिरका केटाकेटीलाई जीवनदायी अमृतको साह्रै खाँचो छ।
(१४ मार्चमा एनडिटिभीको अनलाइन संस्करणमा प्रकाशित ब्लगको भावानुवाद। नाजिर मसुदी एनडिटिभीको श्रीनगर ब्युरो चिफ हुन्)