अछाममा ८३ जनामा हात्तिपाईलेको संक्रमण देखियो

573

लालबहादुर विक
फागुन ३०,
अछाम । अछाममा ८३ जनामा हात्तिपाईले (फाईलेरिया) को संक्रमण भएको पाईएको छ । जिल्ला स्वास्थ्य कार्यालय अछामले हात्तिपाईले रोग निवारण अभियान २०७३ बारे जिल्ला स्थित पत्रकारहरुसंग गरेको अन्र्तक्रियाका अवसरमा सो जानकारी दिईएको हो । जिल्ला स्वास्थ्य कार्यालय अछामको तथ्यांक अनुसार हात्तिपाईले (फाईलेरिया) रोग संग सम्वन्धित हाईड्रोशिलका ६१ जना बिरामी रहेका छन भने हातखुट्टा सुन्निएका ४ जना र अन्य ८ जना रहेको पाईएको छ । नेपालका बिभिन्न ६१ जिल्लामा हात्तिपाईले रोगको संक्रमण देखिएको तथ्यंक रहेको छ भने १५ प्रतिशत मान्छेमा यसको संक्रमण रहेको तथा २५ लाख मान्छे प्रभावित रहेको जनाईएको छ । उचेरिया बाक्रोप्टि नामक ब्याक्टेरियावाट लाग्ने हात्तिपाईले (फाईलेरिया) रोग क्यूलेक्स नामको लामखुट्टेवाट एक मान्छेवाट अर्को मान्छेमा सर्ने गर्दछ । नेपालमा सन २०२० सम्ममा हात्तिपाईले (फाईलेरिया) रोग निवारण गर्ने मुख्य लक्ष सहित यस बिरुद्धको अभियान सञ्चालन गरिएको छ । लक्ष प्राप्तिका लागि र आम नागरिकलाई रोगको संक्रमणवाट जोगाउनका लागि अछाममा पनि आगामि चैत्र ५,६ र ७ गते औषधि खुवाईन लागेको छ । अछाममा ५२ हजार ४ सय ९२ घरधुरीका कुल २ लाख ६६ हजार ७ सय ६३ जनालाई औषधि खुवाईने लक्ष रहेको जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख डा. शरदचन्द्र बरालले जानकारी दिए । त्यसका लागि ५ सय ४५ जना स्वास्थ्यकर्मी र एक हजार ५ सय ५ जना स्वंसेवक परिचालन गरिने उनले बताए । अछाममा यो अभियान अन्र्तगत गत वर्ष ८७ प्रतिशतले औषधि खाएका थिए । अभियानका दौरानमा २ वर्ष मूनिका बालवालिका, गर्भवती तथा सुत्केरी महिला, दीर्घरोगी र सिकिस्त बिरामी बाहेक सबैले उमेर समूह अनुसार डि. ई. ओ. चक्कि र जुकाको औषधि खानुपर्ने छ । यो औषधि निरन्तर ६ वर्षसम्म वर्षको एक पटक खाएमा हात्तीपाईलेको संक्रमण नहुने स्वास्थ्यकर्मीको भनाई छ । अन्र्तक्रियामा जिल्ला स्वास्थय कार्यालयका प्रमुख डा. बराल सहित जनस्वास्थ्य अधिकृत झनकराज ढुंगाना, जनस्वास्थ्य निरिक्षक झपटराज ढुंगाना र पत्रकार महाँसंघका उपाध्यक्ष जनकराज भण्डारीले मन्तब्य राख्दै यो अभियानलाई सफल पार्न र सक्षम नागरिक बनाँउनका लागि राज्यले ठुलो लगानी गरेको भन्दै सफल पार्न सबैले आ आफ्नो तर्फवाट भूमिका निर्वाह गर्नुपर्ने बताए । अन्र्तक्रियामा जिल्लास्थित बिद्युतिय र छापा माध्ययम तथा राष्टिय स्तरका सञ्चार माध्ययममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो ।