राप्रपा विभाजित, लोहनीद्बारा पार्टी परित्याग

290

फागुन २९, काठमाडौं ।
राप्रपाका वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले राप्रपा परित्याग गरेका छन् । उनले आजै अध्यक्ष कमल थापालाई यस विषयमा जनकारी समेत दिइसकेका छन् । रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलनको आयोजना गरी अध्यक्ष थापा माथि १० आरोप लगाएका छन् । उनले पार्टीको निर्देशन समितिको गठन नगरेको, अध्यक्ष पार्टीको सानो समुहको स्वार्थ पूर्ति गर्ने एउटा झुण्डको रुपमा प्रयोग हुन थालेको, मधेशको समस्यालाई आफू सरकारमा पुग्ने हतियारको रुपमा प्रयोग गरेको, अवसरवादी चरित्र देखाएको लगाएतका गम्भीर आरोप लगाएका छन् ।
राप्रपा र राप्रपा नेपाल बिच मंसिर ६ गते पार्टी एकता भएको थियो भने फागुन ६ -९ मा भएको एकता महाधिवेशनले कमल थापालाई अध्यक्षमा चयन गरेको थियो । लोहनीले पार्टी अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरे पनि मनोनयनका बेला एकाएक हटेका थिए । अध्यक्ष थापाले पार्टी एकताको भावना र सम्झौता अनुसार नचलेको भन्दै त्यति बेलै लोहनीले असन्तुष्टी व्यक्त गरेका थिए । पार्टीको चुनाव चिन्ह हलो राख्ने सहमति उल्लंघन गरेको भन्दै लोहनीले विरोध गरेका थिए । तथापि पार्टीले चुनाव चिन्ह गाई राख्ने निर्णय गर्यो । त्यसयता लोहनि मौन थिए । सरकारमा सहभागि हुने बेलामा समेत एकलौटी निर्णय गरेको भन्दै लोहनीले असन्तुष्टी व्यक्त गरेका छन् । उनको समुहले राष्ट्रिय भेलाबाट पार्टी घोषणा गर्ने तयारी गरेको बुझिएको छ ।