वाग्मती सफाइ अभियानले राजनितिक सफाइ अभियानमा सहयोग पुर्याउने प्रधानमन्त्रीको विश्वास

338

२८ फागुन, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दहालले वाग्मती सफाइ अभियानको २ सय हप्ता पुगेको सन्दर्भमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वाग्मती सफाइ अभियानको सफलताले राजनितिक सफाइ अभियानमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे । अब यो अभियान गाउँ नगर सम्म पुग्ने भन्दै राजनितिक अभियानको रुपमा सरकारद्बारा घोषणा गरिएको स्थानीय निर्वाचन सफल बनाउन पनि यसै गरि सबै जट्नु पर्ने भनाइ राखेका थिए । नेपालीहरुलाई कइ कतैबाट अपमानित हस्तक्षेप वा केहि पर्दा सिङ्गो राष्ट्र जुरुक्क उठ्न सक्दछ भन्ने सन्देश दिएको भन्दै उनले हालै भएको भारतीय पक्षबाट घटाइएको घटना र त्यसपछिका घटनाक्रम तर्फ सङ्केत गरे ।
‘वाग्मती सफाइ नयाँ संस्कृति र राष्ट्रिय एकताको अभियान हो’ भन्दै प्रधानमन्त्री दाहालले शनिबार बागमती सफाइको २ सय हप्तामा आयोजित समारोहलाई सम्बोधन गर्दै भने,’ यो हाम्रो मनमा भएको विसंगतिको सफाइ, सामाजिक र सांस्कृतिक सफाइको अभियान पनि हो ।’
स्थानीय तहमा हुने चुनावले घरपरिवारमा समेत राजनीतिक, सामाजिक सफाइ अभियान चल्ने प्रधानमन्त्रीले बताए । उनले वाग्मती सफाइ अभियानले गाउँ गाउँमा राजनीति सरसफाइ अभियान चलाउन स्वयंसेवा गर्ने सन्देश दिएको भन्दै बागमति सफाई अभियान नयाँ राष्ट्रिय एकताको अभियान बनेको बताए ।
यसै बिच राष्ट्रिय सरसफाइ अभियानसम्बन्धी १० बुँदे घोषणापत्र शनिबार जारी गरेको छ । सरकारका मुख्यसचिव डा. सोमलाल सुवेदीले जारी गरेको उक्त घोषणपत्र आगामी नयाँ वर्षको प्रारम्भदेखि नै लागू गरी अभियानकारुपमा सन्चालन गर्नुपर्ने जनाइएको छ । घोषणापत्रमा देशभरिका सबै कार्यालय, संघ–संस्था र निकायले प्रत्येक महिनाको पहिलो शुक्रबार दिउँसो २ देखि ३ बजेसम्म आ–आफ्नो कार्यालय हातामा सरसफाइ अभियानलाई देशव्यापी बनाउने उल्लेख गरिएको छ ।
देशभरिका सबै विद्यालयमा प्रत्येक महिनाको दोस्रो र चौथो शुक्रबार २ देखि ३ बजे वा विद्यालय बन्द हुनुभन्दा एक घन्टाअगाडिको समयदेखि विद्यालय वरपरका आफ्नो पायकपर्ने नदी, खोला, उद्यान, बगैंचा, पोखरी, तालतलैया, धार्मिकस्थल, खानेपानीको मुहान, खुलाक्षेत्र, सडक, टोल वा अन्य सार्वजनिकस्थलको सरसफाइ गर्नुपर्ने छ । देशभरका सबै नगरपालिका क्षेत्रभित्रका निजी भवन तथा कार्यालय, संघ–संस्था र निकायले आआफ्नो कार्यलय परिसरमा गमला फूल, बोट विरुवासहित बगैंचा निर्माण रेखदेख गरी हराभरा बनाइ राख्नुपर्ने छ ।
देशभरका सबै कार्यालय संघ–संस्था र निकायले मापदन्डविपरीतका प्लास्टिक वा झोला तथा वातावरणमा प्रतिकूल असर गर्ने सामग्रीको प्रयोगलाई नियन्त्रण गरी, स्थानीय स्रोतमा आधारित जैविक तथा वातावरणमैत्री विकल्पलाई प्रवद्र्धन गर्ने तथा प्लास्टिकजन्य पदार्थ जलाउने कार्यलाई पूर्णतः निषेध गर्ने घोषणापत्रमा उल्लेख छ ।घोषणापत्रमा भनिएको छ–‘सबै स्थानीय तहले प्रत्येक महिनाको अन्तिम शनिबार बिहान स्थानीय बासिन्दा र संघ–संस्थाको सहयोगमा पायकपर्ने खानेपानीको मुहान, पोखरी, नदी, पार्कलगायत क्षेत्रमा सरसफाइको व्यवस्था मिलाउनुपर्नेछ ।’स्वच्छ र स्वस्थ्य वातावरणमा बाँच्न पाउनु नागरिकको संवैधानिक हक भएको र खानेपानी तथा सरसफाइ सेवा आधारभूत मानवअधिकारकारुपमा रहेका विषय पनि घोषणापत्रमा उल्लेख गरिएको छ ।