राप्रपा अध्यक्षको उम्मेद्वारी दर्ता गर्न ५० हजार

198

फागुन ८,
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा उम्मेद्वारी दर्ता गर्न ५० हजार रुपैयाँ शुल्क तोकिएको छ । सोमबार हुने मतदानका लागि आइतबारदेखि प्रक्रिया सुरु हुन लागेको हो । मनोनयन दर्ता बिहान १० बजेपछि सुरु हुने र अध्यक्षका लागि मनोनयन दर्ता गर्नेले ५० हजार रुपैयाँ दरखास्त दस्तुर बुझाउनुपर्ने छ । त्यस्तै सदस्यका लागि उम्मेद्वारी दर्ता गराउन ७ हजार रुपैयाँ दस्तुर तिर्नुपर्नेछ । राप्रपाको अध्यक्षमा कमल थापा र प्रकाशचन्द्र लोहनीले उम्मेद्वारी घोषणा गर्नुभएको छ । राप्रपाको नयाँ कार्यसमितिका लागि आइतबार चुनावी प्रक्रिया सुरु हुँदैछ । बिहान १० देखि १२ बजेसम्म उम्मेद्वारका लागि मनोनयनपत्र दर्ता गर्ने समय तोकिएको छ । आइतबार नै उम्मेद्वारीमाथि दाबीविरोध, उम्मेद्वारी फिर्ता र उम्मेद्वारको अन्तिम नामावली प्रकाशन हुने र सोमबार मतदान हुनेछ । शनिबार पारित भएको विधान अनुसार अध्यक्ष र ९८ जना केन्द्रिय सदस्यका लागि चुनाव हुनेछ । शनिबार पारित भएको राप्रपाको नयाँ विधानमा १ सय ६३ सदस्यीय केन्द्रिय कार्यसमिति रहने, त्यसमा अध्यक्ष र ६० प्रतिशत केन्द्रिय सदस्य प्रत्यक्ष निर्वाचित हुने र बाँकी सदस्य अध्यक्षले मनोनयन गर्ने प्रावधान छ ।