प्रेस चौतारीको पुरस्कार सिफारिस समिति गठन

243

माघ ७,
काठमाडौँ । प्रेस चौतारी नेपालले आफूले स्थापना गरेका चार पुरस्कार सिफारिसका लागि अलगअलग चयन समिति गठन गरेको छ । चौतारीको यही माघ ३ गते बसेको सचिवालयको चौथो पूर्ण बैठकले ‘हृदयचन्द्रसिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार’ चयनका लागि नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेको संयोजकत्वमा चौतारीका वरिष्ठ उपाध्यक्ष माधव नेपाल र उपाध्यक्ष सइन्द्र राई रहेको समिति गठन गरेको छ । यस्तै ‘अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार’ चयनका लागि डा कुन्दन अर्यालको संयोजकत्वमा चौतारीका महासचिव राजेश राई र सचिव देविका घर्ती मगर सदस्य, ‘वीरेन्द्र साह युवा क्रियाशील पत्रकारिता पुरस्कार’ चयनका लागि प्रा चिरञ्जीवी खनाल संयोजक तथा चौतारीका उपाध्यक्ष लालबाबु शेख र सचिव भउचप्रसाद यादव सदस्य रहेको समिति गठन गरिएको छ । ‘डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार’ चयनका लागि नेपाल पत्रकार महासङ्घका कोषाध्यक्ष सूर्यमणि गौतमको संयोजकत्वमा चौतारीका उपाध्यक्ष वीरबहादुर गिरी र सविन प्रियासन रहेको समिति गठन गरिएको छ । चौतारीका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा बसेको बैठकले अन्तरिम प्रदेश कमिटी गठन गर्नाका साथै एक महिनाभित्र सातै प्रदेशमा भेला आयोजना गर्ने निर्णय पनि गरेको महासचिव राईले जानकारी दिए । पुरस्कार यही माघ २२ गते चौतारीको स्थापना दिवसका दिन काठमाडौँमा आयोजना हुने भेलामा घोषणा गरिनेछ ।