आज १९ औं भूकम्प सुरक्षा दिवस मनाईंदै

198

माघ २,
काठमाडौं । आज ‘भूकम्पीय सुरक्षाको बलियो आधार, भुइँचालो थेग्ने घर र भौतिक पूर्वाधार’ भन्ने नाराका साथ १९ औँ भूकम्प सुरक्षा दिवस मनाईंदैछ । आइतबारदेखि पाँच दिनसम्म साँखुमा भूकम्पीय सुरक्षासम्बन्धी प्रदर्शनी पनि आयोजना गरिँदैछ । कार्यक्रममा सडक नाटक र जनचेतनामूलक अभियानसमेत सञ्चालन हुने छ । सरकारले वर्षेनी माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउने गरे पनि उपलब्धि भने खासै हुन सकेको देखिँदैन । पोहोर १८ औँ भूकम्प सुरक्षा दिवसका दिन सुरु गरिएको दुई सम्पदाको पुनर्निर्माण भने अलपत्र परेको छ । २०७२ साल वैशाख १२ गते शनिबार ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाक केन्द्रबिन्दु भएको भूकम्पले झण्डै नौ हजार जनाको ज्यान गयो । आठ लाखभन्दा बढी घर र दुई सयभन्दा बढी पुरातात्विक सम्पदा भत्किए । गएको वर्ष यही दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौं रानीपोखरीबाट शुभारम्भ गरेको पुनर्निर्माण महाअभियान अलपत्र जस्तै बनेको छ । अलिहेसम्म १४ जिल्लाका ५ लाख ४७ हजारजनाले पहिलो किस्ताको अनुदान रकमका लागि सम्झौता गरेको र ती मध्ये ४ लाख ७३ हजार भन्दा केही बढीले अनुदान रकम लिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । सरकारले भूकम्प प्रभावितलाई ३ किस्तामा गरी ३ लाख रुपैयाँ अनुदान दिने निर्णय गरेपनि त्यो घर बनाउन अपर्याप्त देखिएको छ । सरकारले तोकेका १७ प्रकारका घरका मोडल पनि कतिपय ठाउँमा प्रभावकारी नभएको भूकम्प प्रभावितले बताएका छन् ।