लालबहादुर विक
अछाम । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरी बास्कोटाले नेपालमा कर्मचारीहरुलाई राणाकालिन र पञ्चायतकालिन चलनचल्ति अझै रहेको बताएका छन । अछाम सदरमुकाम मंगलसेनमा भएको सूचनाको हक सम्वन्धिको अन्र्तक्रिया कार्यक्रममा बोल्दै बास्कोटाले राणाकालमा कर्मचारी राणाप्रति गोप्य हुने, पञ्चायतमा पञ्चप्रति गोप्य हुने गरेको अवस्थामा गणतन्त्रमा आईपुग्दा पनि हाकिम प्रति गोप्य हुन खोज्नु र सूचना लुकाउनु राणा र पञ्चायतकालिन चलनचल्ति भएको बताएका थिए । ईमान्दारीताको मुल्य सबै राष्ट्रसेवक कर्मचारीहरुले बुझ्नुपर्ने बताँउदै बास्कोटाले कर्मचारीले जनताको मन मुटुमा रहन सक्नुनै ठुलो आर्जन भएको बताए । नेपालको संविधानको धारा २७ र सूचनाको हक सम्वन्धि ऐन २०६४ ले प्रत्येक नागरिकको सूचनाको हकलाई सुनिश्चित गरेको र सार्वजनिक निकायवाट प्रवाह हुने सेवाबारेको सूचना पाँउनुसबै नागरिकहरुको अधिकार हो । सूचनाको हक राम्रा र हाम्राको बिचवाट राम्रालाई स्थान दिनका लागि आएको पनि बताए । प्रत्येक सरकारी कार्यालयले नागरिकले नमागेपनि अनिवार्य रुपमा ३÷३ महिनाको अन्तरमा कार्यालयका गतिविधीवारे सूचना प्रकाशन गर्नुपर्नेकुरामा पनि सजग गराएका थिए । अन्य ठाँउमा भन्दा अछाम जिल्लामा सूचनाको हक कार्यान्वयनको अवस्था राम्रो रहेको भन्दै बास्कोटाले देशभरमै नमुना जिल्ला वन्न शुभकामना समेत दिएका छन । सो बैठकमा अछाम स्थित सरकारी कार्यालयका कार्यालय प्रमुख तथा सूचना अधिकारीहरुलाई सूचनाको हकका सम्वन्धमा प्रतिबद्धता पत्रमा हस्ताक्षर गराईएको थियो । नागरिकको सूचनाको हक प्रति प्रतिबद्ध गर्न र पारदर्शीताका लागि सबै सरकारी कार्यालयहरुले सहज, सरल र मागेको बेला सूचना उपलब्ध गराँउने कुरा प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ । यहि बैठक मार्फत जिल्ला प्रशासन कार्यालय अछामले निर्माण गरेकोे एकिकृत नागरिक वडापत्र पनि बिमोचन गरिएको थियो । अछामका प्रमुख जिल्ला अधिकारी कोशलराज शर्मा तिमिल्सिनाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख सूचना आयुक्त कृष्णहरी बास्कोटा प्रमुख अतिथी रहनुभएको थियो भने अछाम जिल्ला अदालतका न्यायधिस हरिप्रसाद उपाधयाय शर्मा पंज्ञनी बिशिष्ट अतिथी रहेका थिए ।