Tuesday, November 24, 2026
Home खेलकुद १०औं राष्ट्रिय खेलकुदः आजदेखि सुरु, औपचारिक उद्घाटन १६ गते

१०औं राष्ट्रिय खेलकुदः आजदेखि सुरु, औपचारिक उद्घाटन १६ गते

2

काठमाडौं । सुर्खेत जिल्लाको विरेन्द्रनगरमा १०औं राष्ट्रिय खेलकुदका खेलहरू सुरु हुँदैछन् । औपचारिक उद्घाटन मङ्सिर १६ गते हुने भए पनि खेल भने आजदेखि नै सञ्चालन हुन लागेका हुन् । दशौं राष्ट्रिय खेलकुदको प्राविधिक समितिबाट अनुमोदन भएको तालिकाअनुसार आजदेखि ६ खेलको प्रतिस्पर्धा सुरू हुनेछन् । जसमा पुरुष क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडीलगायत खेल रहेका छन् ।

दशौं खेलकुदका ३२ मध्ये २३ खेल सुर्खेतमा हुने तय भएको छ । एथ्लेटिक्स, क्रिकेट, फुटबल, हक्की, भलिबल, कबड्डी, कराते, ब्याडमिन्टन, फुल कन्ट्याक्ट कराते, टेबल टेनिस, उसु, तेक्वान्दो, जिम्न्यास्टिक, बक्सिङ, ह्यान्डबल, स्क्वास, बास्केटबल, आर्चरी, भारत्तोलन, रग्बी, साइक्लिङ, ईस्पोर्ट्स र सेपाकताक्रो सुर्खेतमै हुने निश्चित भएको हो । त्यसबाहेक टेनिस र खो खो बर्दिया, जुडो र कुस्ती सल्यान, शारीरिक सुगठन पश्चिम रुकुम, आईटीएफ टेक्वान्दो दैलेख, बुद्धिचाल कालिकोट तथा पौडी र सुटिङ नेपालगञ्जमा हुने तय भएको छ ।

प्रतियोगिताका लागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सम्पूर्ण तयारी पूरा गरिएको छ । प्रदेशहरूबाट खेलाडीहरु पनि वीरेन्द्रनगर आइपुगेका छन् । लुम्बिनी प्रदेशका दुई जिल्लामा खेल तय हुँदा कर्णाली प्रदेशका हुम्जा, जुम्ला, जाजरकोट, मुगु र डोल्पामा कुनै पनि खेल राखिएको छैन ।