भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग जनवादी गणतन्त्र चीनको चिनियाँ वैदेशिक मैत्री संघका अध्यक्ष याङ वानमिङले शिष्टाचार भेट गर्नुभयो । चिनियाँ प्रतिनिधिमण्डललाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वागत गर्नुभयो । तीनदिने नेपाल भ्रमणका क्रममा भक्तपुर आइपुगेको प्रतिनिधिमण्डलले नगर प्रमुख प्रजापतिसँग भेटघाट तथा आपसी मैत्री सम्बन्धका विषयमा छलफल गरेको थियो । भेटका अवसरमा नगर प्रमुख प्रजापतिले नेपाल र चीनबीचको सम्बन्ध इतिहासदेखि नै घनिष्ठ र मित्रवत् रहँदै आएको उल्लेख गर्दै सातौँ शताब्दीमा तिब्बतका राजा स्रङचङ गम्पोसँग नेपाली राजकुमारी भृकुटीको विवाह तथा तेह्रौँ शताब्दीमा नेपाली कलाकार अरनिकोले तिब्बत र पेइचिङमा निर्माण गरेका कलाकृतिहरूले नेपाल–चीनबीचको ऐतिहासिक सम्बन्ध र सांस्कृतिक मित्रतालाई प्रस्ट पारेको बताउनुभयो ।
उहाँले सन् १९५५ मा नेपाल र चीनबीच औपचारिक दौत्य सम्बन्ध स्थापना भएपछि चीनले नेपालको आर्थिक विकासमा महत्वपूर्ण सहयोग पु¥याउँदै आएको चर्चा गर्दै सडक पूर्वाधार निर्माण, विभिन्न उद्योगधन्दाको स्थापना तथा ट्रलीबस सञ्चालनलगायतका क्षेत्रमा चीनले गरेको सहयोग नेपालको विकास यात्रामा महत्वपूर्ण रहेको उहाँले बताउनुभयो ।
उहाँले कोभिड–१९ महामारीका बेला भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई शान्नान नगरपालिकाले विभिन्न स्वास्थ्य सामग्री सहयोग गरी मानवीय सहयोग र सद्भाव प्रस्तुत गरेको स्मरण गर्नुभयो । उक्त सहयोगले नेपाल र चीनबीचको मित्रवत् सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै असल छिमेकीको व्यवहारलाई समेत प्रतिबिम्बित गरेको उहाँको भनाइ थियो ।
प्रमुख प्रजापतिले नेपाल मजदुर किसान पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीच राम्रो सम्बन्ध रहँदै आएको उल्लेख गर्दै आफूहरू नेपाल मजदुर किसान पार्टीबाट निर्वाचित जनप्रतिनिधि भएको र पार्टीले माक्र्सवाद, लेनिनवाद र माओ त्से तुङ विचारधारालाई आफ्नो मार्गनिर्देशक सिद्धान्तका रूपमा अंगीकार गर्दै आएको जानकारी दिनुभयो ।
नेपाल मजदुर किसान पार्टीको नेतृत्व वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले गर्दै आउनुभएको उल्लेख गर्दै जनताको सेवा नै राजनीति हो भन्ने मान्यताका साथ उहाँले पार्टीलाई मार्गनिर्देशन गर्दै आएको बताउनुभयो । साथै, बिजुक्छेँद्वारा लिखित ‘सय वर्षपछिको भक्तपुर’ पुस्तकले भक्तपुरको भविष्यको परिकल्पना र विकासको दीर्घकालीन रूपरेखा प्रस्तुत गरेको उल्लेख गर्दै उक्त विचार र मार्गनिर्देशनअनुसार आफूहरू अघि बढिरहेको बताउनुभयो ।
चनियाँ वैदेशिक मैत्री संघका अध्यक्ष याङ वानमिङले भक्तपुर सहरले हासिल गरेको सफलता र विकासका लागि बधाई दिँदै नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भक्तपुर भ्रमण गर्न पाउँदा खुशी व्यक्त गर्दै भ्रमणका क्रममा सहरलाई अझ गहिराइमा बुझ्ने अवसर प्राप्त हुने विश्वास व्यक्त गर्दै चिनियाँ पक्षले पनि भक्तपुरलाई विशेष महत्व दिइरहेको बताउनुभयो ।
नेपाल र चीनबीचको सम्बन्ध इतिहासभन्दा पुरानो रहेको उल्लेख गर्दै उहाँले दुवै देशले लामो समयदेखि मैत्रीपूर्ण सम्बन्धलाई निरन्तरता दिँदै आएको बताउनुभयो । सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा दुई देशबीच ऐतिहासिक तथा रणनीतिक सम्बन्ध स्थापना गर्ने सहमति भएको स्मरण गर्दै उहाँले त्यसयता दुवै देशका नेतृत्वबीच आर्थिक, राजनीतिक, सांस्कृतिक, पर्यटन तथा युवा आदानप्रदानका क्षेत्रमा व्यापक छलफल र सहकार्य हुँदै आएको बताउनुभयो ।
उहाँले वर्तमान अवस्थामा नेपाल–चीन सम्बन्ध स्वस्थ, स्थिर र राम्रो रहेको उल्लेख गर्दै कठिन परिस्थितिमा पनि दुवै देश एकअर्काको साथमा उभिँदै आएको बताउँदै भूकम्प, कोरोना महामारी तथा भोटेकोशी बाढीजस्ता विपद्का समयमा दुवै देशले एकअर्कालाई सहयोग गरेको बताउनुभयो ।
उहाँले रसुवाका बाढीपीडित जनतालाई राहत उपलब्ध गराउने, पुनर्निर्माणका कार्य अघि बढाउने तथा केरुङ नाका पुनः सञ्चालन गर्ने विषयमा थप छलफल भइरहेको जानकारी दिँदै चिनियाँ पक्षले आफ्नो क्षमताअनुसार नेपाललाई निरन्तर सहयोग र समर्थन गर्दै आएको पनि बताउनुभयो ।
नेपाल र चीनबीचको सम्बन्ध केन्द्र सरकारमा मात्र सीमित नराखी स्थानीय तह र जनस्तरसम्म अझ बलियो तथा व्यापक बनाउनुपर्नेमा जोड दिँदै उहाँले पर्यटन, शिक्षा, स्वास्थ्य, संस्कृति र युवा आदानप्रदानलगायतका क्षेत्रमा सहकार्यका प्रशस्त सम्भावना रहेको बताउनुभयो ।
भक्तपुर नेपालको महत्वपूर्ण ऐतिहासिक तथा सांस्कृतिक सहर भएको उल्लेख गर्दै उहाँले तिब्बतका शान्नान र लसान सहरसँग जस्तै अन्य सहरसँग पनि मैत्रीपूर्ण सम्बन्ध स्थापना गर्न चिनियाँ पक्ष इच्छुक रहेको बताउनुभयो । भक्तपुरको आर्थिक तथा सामाजिक विकास अझ उन्नत र समृद्ध होस् भन्ने शुभकामना उहाँले बताउनुभयो ।
सोही क्रममा नगर प्रमुख प्रजापतिले अध्यक्ष या· वानमि·लाई मयुरको झ्याल र भक्तपुर नपाका प्रकाशनहरु प्रदान गर्नुभयो । भेटघाटपश्चात् प्रतिनिधिमण्डलले भक्तपुरका ऐतिहासिक, सांस्कृतिक तथा सम्पदास्थलहरू दरबार क्षेत्र, टौमढी र तालाक्वको अवलोकन भ्रमण गरेको थियो ।
भ्रमण टोलीमा चिनियाँ दूतावासको तर्फबाट मिनिस्टर काउन्सिलर चउन फान, चिनियाँ वैदेशिक जनमैत्री संघका उपमहासचिव ची यो·च्युन, एसियाली तथा अफ्रिकी मामिला विभागका महानिर्देशक लिउ फाङ र उपनिर्देशक आइ लिन, चिनियाँ वैदेशिक जनमैत्री संघका अध्यक्षका सचिव चङ छन, कर्मचारी होउ मङवेइ, कोङ स्यु, चउ थाओलगायतको उपस्थिति रहेको थियो ।













