हरियो नरिवलको पानी स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । नरिवल पानीमा भिटामिन ‘बी’ का साथै भिटामिन सीको मात्रा प्रशस्त पाइन्छ । जसले शरीरमा एन्टीअक्सिडेन्टको रुपमा काम गर्छ । त्यस्तै, यसमा पाइने साइटोकिनिन्सले एन्टिएजिङ, एन्टिकार्सिनोजेनिक तथा एन्टिथ्रोम्बोटिकको रूपमा काम गर्ने विभिन्न अनुसन्धानहरुले जनाएको छ । विशेष गरी धेरै गर्मी हुने क्षेत्रमा नरिवल पानी धेरै रूचाइन्छ । नेपालको तराई क्षेत्र लगायत काठमाडौं र अन्य शहरहरूमा समेत यसको खपत राम्रै हुन्छ । कतिपय अवस्थामा हामीले अस्पतालमा बिरामी भेट्न जाँदा नरिवल पानी प्याक गरेर लैजाने गरेका छौँ ।के यसरी नरिवलबाट पानी निकालेर टाढा लैजानु राम्रो हुन्छ ? नरिवल फोरिसकेपछि त्यो पानी कति समयसम्म बाहिर राख्न मिल्छ त ? खोलिसकेपछि नरिवल पानी धेरै लामो समयसम्म भण्डारण गरेमा बिग्रन्छ । यसका पोषक तत्वहरू पनि कम हुन थाल्छन् ।














