Tuesday, September 29, 2026
Home स्वास्थ्य बाढी प्रभावित क्षेत्रमा रोग फैलने आशंकामा सरकारले थाल्दै खोप अभियान

बाढी प्रभावित क्षेत्रमा रोग फैलने आशंकामा सरकारले थाल्दै खोप अभियान

6

काठमाडौँ : रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रहरूमा फैलिन सक्ने हैजालगायतका विभिन्न संक्रामक रोगविरुद्ध सरकारले खोप अभियान थाल्दै छ। प्रधानमन्त्री कार्यालयका अनुसार सरकारसँग मौज्दात रहेको १ लाख २ हजार १२३ डोज हैजाविरुद्धको खोप बाढी प्रभावित जिल्लाहरूमा पठाइँदैछ।जसअन्तर्गत रसुवामा मुखबाट दिइने २१ हजार ६०० डोज खोप हेलिकप्टरमार्फत पठाइसकिएको छ भने त्यहाँ भदौ २५ गतेदेखि खोप अभियान सञ्चालन गर्ने तयारी छ। त्यस्तै, नुवाकोटमा ८० हजार ५२३ डोज खोप स्थलमार्गबाट पठाइँदैछ र त्यहाँ पनि यो साताभित्रै खोप अभियान सुरु गरिनेछ। यो खोप वडा कार्यालयस्तरमा स्वास्थ्य स्वयंसेवकहरूले प्रभावित क्षेत्रका नागरिकहरूलाई खुवाउनेछन्। १ वर्ष वा सोभन्दा माथिका सबै नागरिकलाई यो खोप दिइनेछ। प्रभावित क्षेत्रमा सम्भावित हैजाको महामारी रोकथाम गर्न पूर्वतयारीस्वरूप यो अभियान सञ्चालन गर्न लागिएको हो। यसैगरी, रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रमा टिडी तथा दादुरा–रुबेला खोप अभियान पनि सञ्चालन गर्ने सरकारको तयारी छ।

उद्धार तथा राहतमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी एवम् चोटपटक लागेका नागरिकहरूलाई टिटानसबाट जोगाउन टिडी खोप दिइनेछ। दादुरा–रुबेला खोप भने ६ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई लक्षित गरी आगामी २ हप्ताभित्र दिइसक्ने सरकारको योजना छ। खोप ऐनअन्तर्गत गठित ‘राष्ट्रिय खोप सल्लाहकार समिति’ले बाढी प्रभावित क्षेत्रमा सरसफाइको कमी भई हैजा वा अन्य महामारी फैलिन सक्ने जोखिम रहेकाले पूर्वतयारीस्वरूप खोप दिन सिफारिस गरेको हो। खोप तथा स्वास्थ्य सेवाबारे थप जानकारी लिनका लागि ‘हेलो स्वास्थ्य’को टोल फ्री नम्बर १११५ मा सम्पर्क गर्न सकिनेछ।