Sunday, October 11, 2026
Home समाज डोजरको प्रयोग प्रकृतिको बनावट र आवश्यकताको आधारमा मात्र अनुमति योग्य बनोस् ।

डोजरको प्रयोग प्रकृतिको बनावट र आवश्यकताको आधारमा मात्र अनुमति योग्य बनोस् ।

2

केही घरमात्र छन् चरिकोटमा, बनमारे, चुत्रो–ऐँसेलुका केही पोथ्राहरू र खुल्ला चौर । म उकालै– उकालो सातदोबाटो चोकबाट सिमपानी तिर लम्की रहेको थिए । साँझको समय, हल्का हिमपातले मौसम सुरम्य लाग्दथ्यो । पहेँलो ऐँसेलुमा हिउँका भुवादार छिर्का पर्दा साँझको सूर्यास्तको प्रकाश थप उज्यालो बनेको थियो ।बास बस्न पैँयू र दुधिलोका रुखतिर उड्दै गरेका चराको चिरविर आवाजले संगीतको नयाँ धुन गुन्जिएको थियो । मनमौजी मनका स्वतन्त्र विचरणले शरीरमा नयाँ स्फूर्ति भरेको थियो । म निर्धक्क थिएँ । न कसैको भय, न कुनै चिन्ता र आक्रोश ।मैले सपनामा चरिकोटको विगतका सौन्दर्य नियालिरहेको थिएँ । सपनाको त्यो सुमधुर पल ४०÷४५ वर्ष अघिको मेरो जीवनका अनमोल समय थिए । त्यतिबेला म स्वतन्त्र थिएँ, निर्धक्क थिएँ । चरिकोट सुन्दर र अर्गानिक थियो । हरेक मानिसले सपना देख्छन् । केही सपना बिहानीको ब्यूझाइसँगै विलिन हुन्छन्, केही सपना मानसपटलमा धेरै लामो समयसम्म रहिरहन्छ । मेरो मानसपटलमा रहने हरेक सपना अतीतका सुखद् पलसँग जोडिएका हुन्छन् । म जतिबेला आमासँग आस्रित थिएँ, मेरा हरेक पल सुखद् थियो । न चिन्ता, न कुनै डर र अपेक्षा ! त्यतिबेला चरिकोट पनि अर्गानिक थियो । दुबोका चौर, ऐँसेलु, घङ्गारु र चुत्रोका पोथ्राहरू । चम्किलो गौरीशंकरको उज्यालोमा कालिञ्चोक, शैलुङ र चेर्दुङको पहाडले सुन्दरता छरेको सुन्दर चरिकोट । हो मेरो हरेक सपनामा त्यही चरिकोट आइरहन्छ । बारम्बार– हरेकबार ।

सपना जीवनका अनुभूतिहरूको प्रकटीकरण हो । जीवनका सुन्दर–पीडादायी पलहरू उक्लँदै–ओर्लँदै निरन्तर अघि बढिरहन्छन् । सपनीले अतीतका ती पलहरूलाई पुर्नताजगी गरिदिन्छ । जहाँ पीडाको रोदन र खुसीका उमंगहरू निर्धक्कै महसुस गर्न सकिन्छ। सपनीमा आमाको स्मृति र चरिकोटको प्रकृति बीचको तादम्यता अनौठो लाग्छ । आमा आउँदिनन् सपनीमा खासै । उनी मलाई दु:खी देख्नै चाहन्नन् । उनको आगमन पछिको मेरो ब्यूँझाइले पीडा थपिदिन्छ भन्ने उनलाई हेक्का छ । जुनकुरा उनी चाहन्नन्, त्यसैले सपनीमा आउँदिनन् । तर उनको स्मृति मेरो हरेक सपनीको पृष्ठभूमि बनेर रुमल्लिरहेको हुन्छ । चरिकोटका ती प्रत्येक पलहरू, जहाँ हिउँका भुवादार छिर्काले मलाई रोमाञ्चित गरिरहेको हुन्थ्यो । ती पलहरू, आमाको न्यानो मायामा मैले बेथित गरिरहेको हुन्थे । अबत, ती पलहरूमा एक्लै बिताइरहेको हुन्छु सपनीमा पनि, किनभने मेरी आमा सपनीमा आउँदिनन् । अहँ ! आउँदै आउँदिनन् । आमाको काख र प्रत्येक्ष निगरानीमा दौडने जिन्दगी कति भाग्यमानी ।

म पनि अभागी चाहिँ हैन । जन्म र कर्म दिने आमाहरू क्षितिज पारी कतैबाट मेरै निगरानीमै त हुनुहुन्छ नि । त्यसैले आमाको स्मृति मेरो हरेक सपनीको पृष्ठभूमि हो । अनि चरिकोटका लागि हिउँका भुवादार छिर्काहरू पनि सपनी नै भएका छन् । यर्थाथमा चरिकोट कृतिम सुन्दरतासँग नतमस्तक छ ।
अहिले त चरिकोट कहाँ अर्गानिक छ र ! कंक्रिटको जंगल बनेको चरिकोट सफाई र व्यवस्थापनको अभावले कुरुप बन्ने भयमा आतंकित छ । अब त गौरीशंकरलाई चिहाउन कि घरका छतहरू उक्लनुपर्छ कि चरिघ्याङ र सिमपानीसम्म दौडनुपर्छ । मानिसको खलबल र सवारी साधनका ट्याँट्याँ, टुँटुँले कोलाहलमय छ ।चरिकोटमा हिमपातको त कल्पनै नगरौँ । उतिबेला पुस, माघको महिनामा फल्याकको छानो भएको घरमा हप्तौ हिँउ टल्किन्थे । बलेसी र बारीका कुनाकाप्चामा हप्तौ हिँउको रास देखिन्थ्यो । यी सबै एकादेशको कथा भएको छ ।

केही वर्षपछि कालिञ्चोक, शैलुङ, खरिढुङ्गा, मूडे र हनुमन्ते डाँडामा पनि हिउँ नदेखिने हो कि ? हुन त क्रमशः हिमालहरू नै कालो हुँदै गएको खबर बेला-बेलामा पढ्न पाइएकै छ । गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढी विश्वव्यापी तापक्रम वृद्धिको पराकम्प थियो भन्ने कुरामा हामी सबै सहमत छौँ । तर, के यसको दोष अमेरिका, चीन, भारत जस्ता मुलुकहरूलाई दिएर मात्र समाधान निस्कन्छ र ! हरितगृह ग्यास उत्पादन हुनुमा यी मुलुकहरू मुख्य रुपमा दोषी छन्, त्यो सत्य हो । हामी यो मामलामा दोषी छैनौँ । त्यसो हुँदाहुदै पनि हामीले साना–साना कुरामा सचेतना अपनाउन नसक्दा पनि परिणाम भयंकर बनेको छ । त्यसैले विश्वव्यापी तापक्रम वृद्धिले निम्ताउने दैवी विपत्तिमा हरितगृह ग्यास उत्पादन गर्ने ठूला मुलुकहरूसँग क्षतिपूर्ति माग गरेर मात्र समाधान निस्कँदैन।