बालविवाहको मूल्य : १४ वर्षमै आमा!

4

म्याग्दी : बालविवाहका कारण शारीरिक तथा मानसिक रूपमा परिपक्व नहुँदै गर्भवती हुने र आमा बन्ने अवस्था देखिएको छ। जिल्लामा गत आर्थिक वर्ष सुत्केरी भएकामध्ये झन्डै पाँच जनामा एक जना २० वर्षमुनिका छन् भने एक किशोरीले १४ वर्षमै आमा बन्नुपरेको छ। प्रदेश जनस्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ मा सुत्केरी भएकामध्ये करिब २० प्रतिशत २० वर्षमुनिका छन्। कुल ५८५ जना सुत्केरी भएकामा ११६ जना अथवा १९.८२ प्रतिशत २० वर्षमुनिका रहेका कार्यालयका सूचना अधिकारी गणेश सुवेदीले बताए।’छ जना घरमै सुत्केरी भएका हुन्’, उनले भने, ‘गत वर्ष सुरक्षित गर्भपतन सेवा लिएका ७९० जनामध्ये ५.७५ प्रतिशत अथवा ४३ जना २० वर्षमुनिका छन्।’ आव २०८१/८२ मा सुत्केरी भएका र सुरक्षित गर्भपतन सेवा लिएका एक हजार ३८४ जनामध्ये १३.७२ प्रतिशत अथवा १९० जना २० वर्षमुनिका थिए। २०८०/८१ मा २० वर्षमुनिका १६१ जना सुत्केरी हुँदा सुरक्षित गर्भपतन सेवा लिने सो उमेर समूहका किशोरी तथा युवतीको सङ्ख्या २९ जना थियो।