काठमाडौँ : महालक्ष्मी विकास बैंकले बाढीपहिरो प्रभावित क्षेत्रका नागरिकको राहत, उद्धार तथा पुन:स्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेको छ। बैंकले यही असोज १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट क्षति पुगेका नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले उक्त रकम हस्तान्तरण गरेको हो। भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवन जिल्लाका रसुवागढी, टिमुरे, स्याफ्रुबेँसी, बेत्रावती, त्रिशूली र देवीघाट लगायतका क्षेत्रमा ठूलो मात्रामा जनधनको क्षति पुगेको छ। यो विषम परिस्थितिको सामना गर्न बैंकका तर्फबाट र बैंकमा कार्यरत कर्मचारीहरूका तर्फबाट एक दिन बराबरको पारिश्रमिक समेत गरी कुल ५१ लाख रुपैयाँ सहयोग गरिएको बैंकले जनाएको छ। विपद्को यस कठिन घडीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै बैंकले शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ। महालक्ष्मी विकास बैंकले प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै राहत, उद्धार र पुन:स्थापनाका लागि भइरहेका प्रयासमा आफ्नो सहयोग निरन्तर रहने प्रतिबद्धता समेत व्यक्त गरेको छ।













