कोरलाबाट भित्रिएका सामान चोभार बन्दरगाहमै जाँचपास गर्न सकिने

3

काठमाडौं । मुस्ताङ भन्सार कार्यालयमा पैठारीका लागि आएका वस्तु काठमाडौंको चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट जाँचपास गर्न सकिने भएको छ । यसका लागि भन्सार विभागले सडक मार्ग तोकेको छ । यससँगै मुस्ताङबाट भित्रिएका सामान सो भन्सार कार्यालयमा जाँचपास नगरी सिधै काठमाडौं ल्याउन सकिने भएको छ । विभागका अनुसार भन्सार नियमावलीले तोकेका सर्त, प्रक्रिया लगायत व्यवस्था पालना गरी अर्को निर्णय नभएसम्म आन्तरिक परिवहनको सुविधा दिने निर्णय भएको छ । मालबाहक सवारी साधनको हकमा कोरला नाकाबाट प्रवेश गरेका सवारी नेचुङ–छुसाङ–कागवेनी–जोमसोम–बेनी–कुस्मा–पोखरा–दमौली–मुग्लिङ–कुरिनटार–नौबिसे–कलङ्की–सुक्खा बन्दरगाह भन्सार कार्यालय पुग्ने गरी रुट तय भएको छ । सो रुटमा समस्या आएको अवस्थामा सवारी साधन मुग्लिङ–नारायणघाट–हेटौडा–भैसे–नौबिसे–कलंकी–चोभार हुँदै सुक्खा बन्दरगाह पुग्न पाउने गरी रुट तोकिएको छ ।