काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले लाङटाङको उत्तरी भेगबाट खसेकको हिमचट्टानका कारण गएको पहिरोबाट बनेको ताल अहिलेका लागि जोखिमपूर्ण नरहेको जनाएको छ । बाढी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुलीका अनुसार, चिनियाँ टोलीले नेपाली पक्षलाई माथिल्लो तालमा पानीको मात्रा केही बढेपनि जोखिमपूर्ण अवस्था नभएको जनाएको हो । हिमचट्टान खसेपछि माथिल्लो भागमा पहिलो खाल्डो बनेको थियो भने ल्हेन्दे खोलाको माथिल्लो भागमा दोस्रो खाल्डो बनेको थियो । चिनियाँ टोलीले खोलाछेवैको ताललाई ब्यारियर लेक वान र माथिल्लो भागमा रहेको ताललाई ब्यारियर लेक टु भनेको छ ।‘तल्लो भागको तालबाट लगभग सबै पानी बगेकाले पानी जम्मा भएको छैन र खासै समस्या छैन भन्ने कुरा आएको छ,’ पराजुलीले अनलाइनखबरसँग भने, ‘माथिल्लो तालमा भने पानीको सतह केही बढेको छ, तरपछि खतराको तहमा पुगेको छैन भन्ने कुरा आएको छ ।’चिनियाँ टोलीले आफ्नो भूभागबाट ल्हेन्दे खोला वारीपट्टि नेपालको भूभागको अवलोकन गरिरहेको र त्यसक्रममा तालको सूचना पठाइरहेको इञ्जिनियर पराजुलीले बताए । माथिल्लो भागमा रहेको ताल करिब शून्य दशमलव १९ वर्गकिलोमिटरको हो । त्यो तालमा दुई मिटर सतह बढेर करिब ६ लाख घनमिटर पानी जम्मा भएको अनुमान छ ।













