सरकार र प्राधिकरणले ‘पीपीए’मा अल्झाइरहे, निजी क्षेत्र मारमा

1

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण विद्युत् व्यापार विभागले विद्युत् खरिद सम्झौता (पीपीए) का लागि २०८२ जेठ २५ गते एक सूचना जारी गर्‍यो । जसमा विभिन्न ५४ वटा जलविद्युत् आयोजनाहरूलाई चार दिनभित्रमा विवरण पेश गर्न भनिएको थियो । विद्युत् प्राधिकरण सञ्चालक समितिको ९९४ औं बैठकको निर्णय अनुसार कनेक्सन एग्रिमेन्ट सम्पन्न भएका जलविद्युत् आयोजनाहरूको विद्युत् खरिद बिक्री सम्झौता गर्नका लागि आवश्यक कागजातहरू ४ दिनभित्रमा उपलब्ध गराउन भनिएको थियो ।आयोजना राष्ट्रिय निकुञ्ज, आरक्ष वा संरक्षित क्षेत्रभित्र परे/नपरेको, संक्षिप्त प्रगति विवरणसहित आयोजना तयारीको अवस्था (जेनेरेसन लाइसेन्स, वित्तीय व्यवस्था समापनको अवस्था, निर्माण स्थलको अवस्था, वातावरणीय अध्ययन अवस्था) लगायतका विवरण पेश गर्नुपर्ने थियो । विभागको सूचनापछि कम्पनीहरूले विवरण बुझाएका थिए । प्राधिकरणले निजी प्रवद्र्धकहरूलाई ४ दिनभित्र कागजात बुझाउनु पर्ने ‘अत्यन्त जरुरी’ भन्दै पत्राचार गरे पनि कागजात बुझाइसकेपछि भने १४ महिनासम्म पनि पीपीए हुन सकेको छैन ।