काठमाडौं । भदौ पहिलो साता काठमाडौंमा हुन लागेको इन्टरनेसनल एसोसिएसन फर टिबेटन स्टडिज (आईएटीए) को १७ औं सम्मेलन एउटा संस्थाको प्रतिनिधि सहभागी हुने नहुने भन्ने विषयले चर्चामा छ । चीनले दलाई लामाको निर्वासित सरकारका प्रतिनिधिहरू सम्मेलनमा सहभागी हुने आशंका गरेपछि यो सम्मेलनको चर्चा भएको हो । चीनको चासो बढिरहेको सन्दर्भमा निर्वासित सरकार केन्द्रीय तिब्बती प्रशासन (सीटीए)ले गत हप्ता आफ्नो प्रतिनिधि नपठाउने निर्णय गरेको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले बताएका छन् । ‘उहाँहरूबाट उक्त सम्मेलनमा औपचारिक रुपमा सहभागी हुँदैनौं भनेर हामीलाई जानकारी प्राप्त भएको छ,’ परराष्ट्रका एक अधिकारीले अनलाइनखबरसँग भने । ७ भदौदेखि १३ भदौसम्म चल्ने सम्मेलनमा ३९ देशका ७२० जना प्रतिनिधि सहभागी हुने आयोजकले जनाएको छ । यो सम्मेलन सबैभन्दा बढी बेइजिङका लागि टाउको दुखाइ बनेको कूटनीतिका जानकारहरू बताउँछन् । खासगरी दलाई लामाका समर्थकहरू सहभागी हुन सक्ने कुराले चीनलाई चिन्तित बनाएको देखिन्छ ।














