देशभरि २ लाख हेक्टरमा रोपाइँ बाँकी, मधेसमा सबैभन्दा धेरै खेत बाँझै

4

काठमाडौं । साउन दोस्रो सातासम्म आइपुग्दा देशभरि अझै १४.२८ प्रतिशत धानखेतमा रोपाइँ हुन बाँकी रहेको तथ्यांकले देखाएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत कृषि विभागको तथ्यांक अनुसार देशभरि कुल धानखेती हुने १३ लाख ७० हजार ६२ हेक्टर क्षेत्रफलमध्ये अझै १ लाख ९५ हजार ६ सय ६९ हेक्टरमा रोपाइँ हुन सकेको छैन ।हालसम्म देशभरि ११ लाख ७४ हजार ३ सय ९२ हेक्टर क्षेत्रफल अर्थात् ८५.७२ प्रतिशत खेतमा मात्र रोपाइँ सम्पन्न भएको छ । देशको प्रमुख अन्नभण्डार मानिने मधेस प्रदेशमा नै सबैभन्दा धेरै क्षेत्रफलमा रोपाइँ हुन बाँकी छ । साउन ७ सम्मको तथ्यांक अनुसार मधेसमा कुल ३ लाख ८५ हजार ९ सय ३३ हेक्टरमा धानखेती हुने गरेकोमा ३ लाख ५ सय ८० हेक्टरमा मात्र रोपाइँ भएको छ ।मधेसमा अझै २२.१२ प्रतिशत अर्थात् करिब ८५ हजार ३ सय ५२ हेक्टर क्षेत्रफलमा रोपाइँ हुन बाँकी छ ।

मधेसपछि गण्डकीमा सबैभन्दा बढी रोपाइँ हुन बाँकी छ । तथ्यांक हेर्दा गण्डकीमा कुल ९३ हजार ६ सय ६ हेक्टरमध्ये ७५ हजार ५ सय ६२ हेक्टर (८०.७२ प्रतिशत) मा मात्र रोपाइँ सकिएको छ, जसले त्यहाँ अझै १९.२८ प्रतिशत खेत बाँझै रहेको छ । यसैगरी कोशी प्रदेशमा कुल २ लाख ७६ हजार ३ सय ८६ हेक्टरमध्ये २ लाख ४० हजार ३ सय ७७ हेक्टरमा मात्र रोपाइँ भएको छ । त्यहाँ अझै १३.०३ प्रतिशत क्षेत्रफलमा रोपाइँ गर्न बाँकी छ । बागमती प्रदेशमा कुल १ लाख १४ हजार ५ सय २४ हेक्टरमध्ये ८७.०९ प्रतिशतमा रोपाइँ सकिएर अझै १२.९१ प्रतिशत क्षेत्रफल बाँकी छ । उता, लुम्बिनी प्रदेशमा कुल ३ लाख १ हजार ३ सय ७२ मध्ये ८८.९९ प्रतिशतमा रोपाइँ हुँदा ११.०१ प्रतिशत क्षेत्रफल बाँकी छ भने कर्णाली प्रदेशमा कुल ४३ हजार २ सय ९० हेक्टरमध्ये ८८.२२ प्रतिशतमा रोपाइँ सम्पन्न भई ११.७८ प्रतिशत खेतमा धान रोप्न बाँकी रहेको तथ्यांकले देखाएको छ ।