मन्त्री बन्न ‘मिडिया ट्रायल’ र लबिङ नगर्न सांसदहरूलाई रवि लामिछानेको चेतावनी

4

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मन्त्री बन्नका लागि कुनै पनि प्रकारको लबिङ वा ‘मिडिया ट्रायल’ नगर्न आफ्ना सांसदहरूलाई निर्देशन दिनुभएको छ । सांसदहरूको अभिमुखीकरण कार्यक्रमको समापन गर्दै उहाँले सरकारमा जाने विषयलाई लिएर बाहिर जथाभावी नबोल्न सचेत गराउनुभएको हो । रास्वपाले अभूतपूर्व जनमत पाएको र सरकारमा जाने सम्भावना रहेको सन्दर्भमा सांसदहरूबीच मन्त्री बन्ने आकांक्षा बढ्नु स्वाभाविक भए पनि त्यसलाई मिडियाबाजीको विषय नबनाउन उहाँले आग्रह गर्नुभयो । पार्टीले कसलाई सरकारमा पठाउने भन्ने विषयमा अहिलेसम्म कुनै निर्णय गरी नसकेको उहाँले जानकारी दिनुभाये । मन्त्री छनोटको मापदण्ड व्यक्तिको क्षमता र विज्ञता हुने भन्दै उहाँले कसैले पनि आफ्नो लागि भनसुन गर्नु नपर्ने बताउनु भयो । मिडियामा धेरै देखिने र नदेखिने दुवैथरी सांसदहरूको मूल्यांकन पार्टीले गरिरहेको उहाँले बताउनु भयो । उहाँले चुनावको बेला जनतासँग गरिएको ‘करार’ (प्रतिबद्धता पत्र)का अक्षर–अक्षर पढ्न सांसदहरूलाई निर्देशन दिँदै मन्त्री बन्ने दौडमा भन्दा पनि जनताको चुलो कसरी बल्छ र उनीहरूको जीवनस्तर कसरी उकासिन्छ भन्ने कुरामा ध्यान केन्द्रित गर्न निर्देशन दिनुभयो ।