काठमाडौं । नेकपा एमाले ललितपुर जिल्ला कमिटिले पार्टीबाट निर्वाचित जिल्लाको बागमती गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष होम प्रसाद बजगाइलाई कारवाही गरेको छ । पार्टीहित र अनुसान विपरित कार्य गरेको आरोपमा उनलाई कारवाही गरिएको ललितपुर एमालेको भनाई रहेको छ । हालै सम्पन्न संघीय प्रतिनिधि सभाको निर्वाचनमा रास्वपाका उम्मेदवारलाई साथ दिएको र प्रचारप्रसार गरेको एमालेको आरोप छ । 
यता पार्टीले कारवाही गरेपछि बजगाईले एमाले छोडेको भन्दै सामाजिक संजालमा लेखेका छन् ।
उनको लेखाई हेर्नुहोस्
२०७९ सालको स्थानीय निर्वाचनमा बागमती गाउँपालिका वडा नं ७ गिम्दीबाट पार्टीका केही केही साथीहरूले सहयोग नगर्दा नगर्दै पनि ठूलो अथक मेहनत र प्रयासले चुनाव जितेको थिए। तर त्यो जितपछि पनि सहकर्मी हरूबाट र पार्टीबाट आउने अवरोधले हृदय चिराचिरा पारिरह्यो, गाउँपालिका र प्रदेश सरकार नेकपा एमालेको नहुदा सोचे अनुसार बजेट वडालाई नहाल्दा पनि आफ्नै प्रयासले आफ्नै लगनशीलताले वडामा बजेटको कमी हुन नदिई विकासका काम अघि बढाए तर यो सबै गर्दागर्दै पनि पार्टीबाट बारम्बार ओझेलमा पारिने अपमानित हुने व्यवहारले मन र आँखा रसाउँछ।
आफ्नो सारा व्यापार व्यवसाय छोडेर, परिवारको सुखशयल त्यागेर राजनीतिमा पूर्ण समर्पित भए, तर पार्टीले नै अफवाह फैलाउने, आक्षेप लगाउने काम गरेर घाउ थपिरह्यो। पूर्व सञ्चारमन्त्री जगदीश खरेल चुनावी प्रचारका लागि मेरो वडामा आउँदा गिम्दी वडाको समस्या अवगत गराउँदा होम प्रसाद बजगाई घन्टीमा गयो, भन्ने झुठो हल्ला चलाउनेदेखि लिएर वडाका समस्या पूर्व सञ्चारमन्त्रीलाई जानकारी गराउँदा पार्टी छोड्यो भन्ने दोष थुपार्ने सम्मका कुकर्म हरु पार्टीकै हातबाट भए। समग्रमा हेर्दा पार्टीले अप्रत्यक्ष रूपमा विस्थापित गराउने रणनीति अपनाएको स्पष्ट देखिन्छ, जसले गर्दा परिवर्तनको पक्षमा उभिन बाध्य भइयो।
भदौ २३ गतेको जेन्जी आन्दोलनमा मरेका निर्दोष भाइबहिनीहरूको रगत खेर जान नदिन, दशकौंदेखि काम पुराना पार्टीहरूको हस्तक्षेपपूर्ण राजनीतिबाट नेपाली समाजलाई मुक्ति गर्न, र आफैंमाथि गरिएको अज्ञात, अपारदर्शी व्यवहारले मन टुक्रिएर परिवर्तनको बाटो रोजियो। अब नेकपा एमालेको जिल्ला कमिटीले कारबाही गर्ने निर्णय गरेको सुन्दा पनि यो पीडाले छोएको छैन। किनकि देश र जनताको सेवा, दक्षिण ललितपुरको हितको लागि कम्मर कसेर लागिरहने संकल्प अझै अडिग छ। वडा अध्यक्ष पदमा रहँदा पनि अब नरहदा पनि यो यात्रा जारी रहनेछ। एमालेमै रहिरहन सक्ने अवस्था छैन। किनकि ७६ जना अबोध निर्दोषहरूले ओली सरकारको निर्देशनमा गोली खाएर ज्यान गुमाएको त्यो दृश्य आँखामा अझै ताजै छ। रातभरि घोचिरहन्छ, मन भतभती पोलिरहन्छ।
पछिल्लो फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा बुद्धरत्न महर्जनले २३,३७३ मत प्राप्त गर्दा चेतनाथ सन्जेलले मात्र ६,५४६ मत प्राप्त गर्नु र बुद्ध रत्न महर्जनले लगभग १६,८२७ मत बढी पाउनु भनेको हामीजस्तै पार्टीका योद्धा र सिपाहीहरुलाई अपमान गर्दा पटकपटक ओझेलमा पार्ने कुचेष्टा गर्दा आएको परिणाम हो। पार्टीको सिपाही र योद्धाहरूको खुट्टा भाँच्ने प्रवृत्तिको प्रत्यक्ष प्रमाण हो। जसले हाम्रो मनलाई अझ गहिरो चोट दिन्छ र अझै सामाजिक सेवामा लाग्ने मनोबल प्रदान गर्छ।
पार्टीले कारबाही गरेर, वडा अध्यक्ष पद खोसेर पनि देश र जनताको हितको लागि काम गर्नबाट रोक्न सक्दैन-यो अन्याय, यो अपमान, सहँदै पनि हार मान्ने छैन!किनकि छातीभित्र देश प्रेमको ज्वाला बलिरहन्छ।जनताको दुखले आँसु बगिरहन्छ।
आज अन्तरात्मादेखि यो भन्न चाहन्छु कि जीवनको अन्तिम साथसम्म दक्षिण ललितपुरको उज्ज्वल भविष्य र समग्र नेपाली जनताको सम्मानजनक जीवनका लागि लडिरहनेछु। यो पीडा बोकेर पनि कहिल्यै झुक्ने छैन।
(पुनः एकपटक नेकपा एमालेलाई धन्यवाद किनकि म जस्तो लगनशील र आफ्नो क्षेत्रमा केही गर्नुपर्छ भन्ने हुटहुटी बोकेको वडा अध्यक्षलाई घोक्रे ठ्याक लगाएर पार्टीबाट बाहिरिने वातावरण सिर्जना गरी राष्ट्रिय स्वतन्त्र पार्टी जस्तो पार्टीमा आबद्ध हुने अवसर दिलाइदिएकोमा)
जय देश, जय घन्टी, जय बालेन सरकार 🙏














