प्रहरी चौकीं र अदालत जलाउने विरुद्ध मुद्धा

1

काठमाडौं । गत भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा सर्वोच्च अदालत, सिंहदरबार र प्रहरी कार्यालय जलाउने १३ जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा दर्ता गरेको छ । आन्दोलनका क्रममा आगजनी र विध्वंशमा संलग्नविरुद्ध आपराधिक उपद्रव र डाँकासम्बन्धी कसुरमा मुद्दा दायर भएको हो ।

सर्वोच्च अदालत जलाएको अभियोगमा सुनील श्रेष्ठ, ज्योति थापा, विनोदकुमार थापा मगर, कुमार पराजुली र राजु परियारविरुद्ध मुद्दा दायर भएको छ । श्रेष्ठ, थापा, मगर, पराजुलीसहितका प्रतिवादीले सर्वोच्च अदालतमा आगजनी गरेर एक अर्ब २३ करोड ६२ लाख ३८ हजार रुपैयाँमा बराबरको क्षति पुर्‍याएको अभियोग पत्रमा उल्लेख छ । सिंहदरबारमा तोडफोड तथा आगजनीमा संलग्न आशीष गुरुङविरुद्ध आपराधिक उपद्रो र डाँकासम्बन्धी कसुरमा मुद्दा दायर गरिएको छ ।त्यस्तै प्रहरी वृत्त बौद्ध जनाएको आरोपमा समीर श्रेष्ठ र सुनिल तामाङविरुद्ध पनि मुद्दा चलाइएको छ । प्रहरी प्रभाग बलम्बु तोडफोड गरेको अभियोगमा निखिल कुसुले, सोहन चौधरी, विवेक रोक्का र छत्रबहादुर विकविरुद्ध पनि मुद्दा चलेको छ ।सर्वोच्च प्रशासनले दिएको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गरेर उनीहरूविरुद्ध मुद्दा चलाएको हो। यसअघि जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा चलाउने निर्णय नगरेका महेन्द्र गौतमविरुद्ध पनि अब प्रक्रिया अघि बढ्ने भएको छ।

उनलाई उच्च अदालत पाटनको सरकारी वकिल कार्यालयले मुद्दा चल्ने निर्णय गरिसकेको छ। सर्वोच्च अदालतले भदौ २४ गतेको घटनामा संलग्नमाथि अनुसन्धान गरी कारबाहीको माग गर्दै काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएको थियो ।