भक्तपुर । नेसनल प्याव्सन भक्तपुरको कार्यक्रम आयोजित अन्तर-विद्यालय वक्तृत्वकला प्रतियोगिता मदरल्याण्ड स्कुल र यूनिटी स्कु्ल विजेता भएका छन् ।
सूर्यविनायक नगरपालिका वडा नं. ४ मा रहेको ईडेन गारडेन स्कुलको आयोजनामा अन्तर-विद्यालय वक्तृत्वकला प्रतियोगितामा “शिक्षा नै उज्यालो भविष्यको आधार” शीर्षकमा आधारित रहेर कक्षा ५ तर्फको प्रतिस्पर्धामा युनिटी इङ्लिस स्कुलका हिमांशु भट्ट प्रथम हुन सफल भएका हुन् । मदरल्याण्ड स्कुलकी कृष्टिका भण्डारीले दोस्रो, ग्लिटर फ्युचरकी स्पर्श थापा मगरले तेस्रो र ऋतम्भरा पाठशालाकी जस्मिन अछामीले सान्त्वना स्थान हासिल गरेका छन् ।
प्रतियोगितामा दुई फरक विधा र तहमा विद्यार्थीहरूले प्रतिस्पर्धा गरेका थिए । वातावरणीय चेतना जगाउने उद्देश्यका साथ “स्वच्छ वातावरण, स्वस्थ जीवन” शीर्षकमा आयोजित कक्षा ४ तर्फको प्रतिस्पर्धामा मदरल्याण्ड स्कुलका जेसिक नेपाल प्रथम घोषित भए ।
पारिजात विद्या कुञ्जकी सबिना नायजुले दोस्रो र आरक्षण नेसनल एकेडेमीकी आजुनी सुवेदीले तेस्रो स्थान प्राप्त गरेका छन् । कक्षा ४ कै प्रतिस्पर्धामा संस्कार गुरुकुलका भाव्या आचार्य र क्वालिटी इङ्लिस स्कुलकी राज्वी लामिछानेले सान्त्वना स्थान प्राप्त गरेको जानकारी आयोजक स्कुलका सह प्रिन्सिपल अनिश राईले बताउनु भयो ।
प्रमुख अतिथि सूर्यविनायक नगरपालिका वडा नं ३ का अध्यक्ष दीपेन्द्र केसीले विद्यार्थीहरूको आत्मविश्वास र अर्थपूर्ण अभिव्यक्तिको उच्च प्रशंसा गर्दै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न इडेन गार्डेन इङ्लिस स्कुलले आयोजक विद्यालयको रूपमा महत्वपूर्ण भूमिका खेलेको दर्शाउदै नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले विद्यालयको कुशल व्यवस्थापन र तयारीका कारण कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न भएकोमा बताउनुभयो । उक्त प्रतियोगितामा कार्यक्रमको निष्पक्ष मूंल्याङ्कनका लागि निर्णायकको भूमिकामा जीवनाथ अधिकारी र मधुसुदन न्यौपाने रहनुभएको थियो । उहाँहरुले विद्यार्थीहरूलाई थप सुधारका लागि मार्गनिर्देशन समेत प्रदान गर्नुभयो । कार्यक्रम ईडेन गार्डेन स्कुलका प्रिन्सिपल जय प्रकाश राईको सभापतित्व सम्पन्न भएको थियो ।












