
काठमाडौँ : भक्तपुरको मध्यपुर थिमी नगरपालिकास्थित नगदेशमा शुक्रबार पुलुकिसी जात्रा सम्पन्न भएकोछ। यो जात्रा श्रीस्वस्थानी व्रतकथासँग सम्बन्धित रहेको नेवा ऐतिहासिक भजन खल नगदेशका अध्यक्ष तुल्सिभक्त घजुले बताए। श्रीस्वस्थानी व्रतकथामा आउने पात्र नवराजको राज्याभिषेक भएपछि हात्ती चढेर नगर परिक्रमा गरेको सन्दर्भ पुलुकिसी जात्रा (यात्रा) भएको उनले जानकारी दिए। यो वर्ष स्थानीय जेनिश बाडेले नवराजको भूमिकामा नगर परिक्रमा गरे।जात्रा र नाच शुक्रबार अपरााह्न ५ बजे सिद्विगणेशबाट शुरु भई लाछी, न्हुछेजो टोल, बहाननी, झ्वापुननी, छ्वास, ध्वाकसी, त्वागल, कुम्हालाछी, पाचोननी हुँदै विश्वनारायण मन्दिरमा पुगेर पूजा गरी समापन भएको थियो। प्रत्येक वर्ष माघ शुक्ल द्वादशीको साँझ प्रदर्शन गरिने यो जात्रा मल्लकालमा शुरु भएको संस्कृतिविद् गणेशराम लाछीले बताए।












