
काठमाडौँ राष्ट्रिय सभामा आगामी फागुनमा रिक्त हुने एक तिहाई सदस्यमध्ये १७ जनाका लागि मतदान शुरु भएको छ। बिहान ९ बजे शुरु भएको मतदान अपराह्न ३ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ। कोशी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर विराटनगर मोरङ, मधेस प्रदेशको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुर उपमहानगरपालिका–४ धनुषा, बागमती प्रदेशको भुटनदेवी माध्यमिक विद्यालय हेटौँडा उपमहानगरपालिका–४ मकवानपुरमा मतदान केन्द्र निर्धारण गरिएको हो । त्यसैगरी, गण्डकी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर पोखरा कास्की, लुम्बिनी प्रदेशको कर्मचारी मिलन केन्द्र घोराही दाङ, कर्णाली प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर वीरेन्द्रनगर सुर्खेत र सुदूरपश्चिम प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर धनगढी कैलालीमा मतदान हुने आयोगले जनाएको छ ।













