काठमाडौं : अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले अन्तरिम सरकारले केही गरेन भन्ने भाष्य सिर्जना गरिएको भन्दै आपत्ति जनाएका छन्। काठमाडौंमा बिहीवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आपत्ति जनाएका हुन्। उनले परिवर्तनलाई स्वीकार गरेमात्रै द्वन्द्व नदोहोरिने बताए। मन्त्री अर्यालले द्वन्द्व दोहोरिन नदिने कुराको सुनिश्चितता अन्तरिम सरकारले गरेको जिकिर गरे। आफू गृहमन्त्री भएर आएपछि देशमा हिंसा नभएको, थप आगजनी हुन नदिएको र थप राजनीतिक प्रकृतिको हत्या हुन नदिएको दाबी गरे। सरकारले केही गरेन भन्ने भाष्यमा विश्वास नगर्न आग्रह गरे। उनले विधिको शासन मिचेर गरिएको काम सुशासन नहुने बताए। मन्त्री अर्यालले जेनजी पुस्ताका एजेण्डा अन्तरिम सरकारको रोडम्याप भएको बताए।














